खेलकुदले पाएको बहुआयामिक व्यक्तित्व
रातोनेपाल, ५ फाल्गुन
मानिसको परिचय उसको कर्म र उसले आर्जेको सफलता बाट मात्र हुने हो, जुन मरणोप्रान्तमा समेत रहन्छ, यस बाहेक अन्य सबै भ्रम मात्र हुन । प्राज्ञिक सफलता, व्यवस्थापकीय दक्षता, साङ्गीतिक चासो र दखलता तथा आफू लागेको क्षेत्रको बृहत्तर अध्ययन र क्षमतामा निखारता ल्याउदै सफलता हासिल गर्ने चानचुने कुरा होइनन । आज गर्न लागिएको चर्चा हो बहु क्षमता भएका नेपाली खेलकुदले पाएको एउटा अस्वाभाविक र बहु क्षेत्रीय सफल व्यक्तित्व डा. ओम कृष्ण प्रसाईँको । यसै कारण ओमकृष्णको कर्मको चर्चा यहाँ गरिएको हो । लामो समय अनवरत गरिएका परिश्रमको गाथा एउटा लेखमा उतार्न सायद पर्याप्त हुँदैन । परन्तु कर्मशील ओमकृष्णका उल्लेख्य विषय सारमा उतार्ने कोशिस गरिएको छ । जिम्मेवारीको हिसाबले ओम अहिले नेपाल कराते महासङ्घको उपाध्यक्ष तथा गोजुरियो ओसिकाई संघका प्रमुख हुन ।
शक्तिमा आसीन हुनेहरूले मानिसलाई जीव होइन बस्तु ठान्ने मानसिकताले आर्थिक हैसियत र समृद्धिलाई सर्वोपरि ठान्दै जिम्मेवारी मात्र होइन सम्मान पनि गर्ने नेपाली समाजको कु परम्पराले कराते क्षेत्र केही हदसम्म गाँजेको पक्कै हो । यसमा सुधार गर्ने प्रयास पनि बौद्धिक क्षमता भएका ओमको पक्कै रहदै आएको छ । कीर्तिपुर स्थित सुलक्षण कीर्ति क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कैलासकुट बहुमुखी क्याम्पसका उप प्राध्यापक समेतको जिम्मेवारी बहन गरिसकेका प्रसाईले समाजशास्त्र र मानव शास्त्रका साथै राजनीति शास्त्रमा दोहोरो स्नातकोत्तर गरेका छ्न ।प्रसाईँले थाइल्यान्डको प्रतिष्ठित विश्वविद्यालय बाट पूर्ण छात्रवृत्तिमा पिएचडी ( दर्शनाचार्य) गर्न सफल छन् । ओम नेपाल स्पोर्ट्स युनिभर्सिटी विकास समितिका संस्थापक बोर्डमा समेत छन्।
बेलायतस्थित गोजुरियो कराते ईन्टरनेशनलका कन्ट्री रिप्रेजेन्टेटिभ ओम नेपाल गोजुरियो कराते महासङ्घका महासचिव हुन् । जापान कराते डो गोजुरियो ओसीकाइ नेपालका उनी महासचिव तथा प्रमुख प्रशिक्षक छन् । ज्युकोसिन अन्तर्राष्ट्रिय बेलायतका उनी राष्ट्रिय प्रतिनिधि हुन् । नेपाल कुबुडो एन्ड मार्सल आर्ट एकेडेमीका उनी सभापति हुन् । ‘आवर सोसाइटी फर पिस’का उनी संरक्षक हुन् । समीक्षा बचत तथा सहकारीका अध्यक्ष ओम कर्मवीर बहुउद्देश्यीय कम्पनी प्रालीका प्रमुख समेत हुन । नेपाल गोल्ड एन्ड सिल्भर इन्टरप्रेनर फोरममा सल्लाहकार समेत हुन् । वर्ल्ड स्पोर्ट्स कराते महासङ्घका उनी बोर्ड सदस्य हुन् । अनामनगर स्थित मिसन इन्टरटेनमेन्टका उनी सल्लाहकार हुन् । नेपाल कराते महासङ्घको स्कुल कराते इन्सट्रक्टर ट्रेनिङ कोर्स तयारी कमिटीका उनी विज्ञ सदस्य छन् । ओसिडेन्टल पब्लिक विद्यालयका व्यवस्थापन कमिटी सदस्य ओम ओकिनावा ओसीनरियु कराते एसोसिएसन अस्ट्रेलियाका पनि उनी सदस्य हुन् । खेलाडी ,प्रशिक्षक र टिम लिडरको रूपमा अनेकन जिम्मेवारी गरेका छन् । सन् २०१९ मा ढाकाको बङ्गलादेशमा भएको पाँचौँ , क्याडेट, जुनियर तथा यु–२१ प्रतियोगितामा ओम टिम मेनेजर थिए । यसै गरी सन् २०२३ मा भएको १७ औ अन्तर्राष्ट्रिय इन्डीपेन्डेन्स कराते च्याम्पियनसिपमा पनि ओम टोली नेता थिए ।
सन् २०१८ मा क्यानडामा भएको क्युबेक ओपन कराते च्याम्पियनसिपमा ओम टोली नेता थिए । मलेसियामा सन् २०१६ मा भएको १३ औ ओकीनावा गोजुरियो कराते च्याम्पियनसिपमा ओम टोली नेता हुनुको साथै रेफ्री पनि थिए । सन् २०१४ मा कोरियाको इन्चोनमा भएको एसियाली खेलका लागि जापानमा भएको नेपाली टोलीको विशेष तयारीका क्रममा ओम टोली नेता थिए । सोही एसियाली खेलकुदका लागि भएको कराते छनोटमा उनले संयोजकको भूमिका निर्वाह गरेका थिए । यस अघि नै सन् २०१३ मा भारतमा भएको एसियन कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा टोली नेता भएका उनी सोही वर्ष संयुक्त अरब इमिरेट्समा भएको दोस्रो अन्तर्राष्ट्रिय कराते ओपनमा पनि नेपाली टोलीको नेतृत्व गरेका थिए । सन् २०१२ को जनवरीमा भारतका भएको अन्तर्राष्ट्रिय सेसीकाई ओपन कराते च्याम्पियनसिपमा टोली नेता लगायतका कयौ महत्त्वपूर्ण अनुभव ओमका छन् ।
अध्ययनशील ओम साहित्य विधामा पनि उत्तिकै रुचि राख्छन् । विभिन्न पत्र पत्रीकामा लेख रचना र कविता प्रकाशित गरी सकेका उनले लेखेका गीत पनि अहिले बजारमा छन् । गीतकार संघ नेपालको आजिवन सदस्य रहेका प्रसाईंका शब्दमा नेपालका बरिस्ठ गायक गायिकाले स्वर भरेका छन भने बरिस्ठ संगीतकारले संगीत दिएका छ्न । प्रसाईकै शब्दमा रचना रिमालको स्वर तथा राज्य राई देमिनको संगीतमा पिता बोलको गीत तेस्रो सिल्भर म्युजिक अवार्ड मलेसियामा आधुनिक तर्फ यो बर्षको उत्कृष्ट गीतकारको अवार्ड समेत प्राप्त गरेको थियो ।
औपचारिक अध्ययनको क्रममा उनले नेपालमा खेलकुदको स्थायित्वका लागि पुर्न नवीकरणीय ऊर्जाको सम्भावनाको बारे लेख प्रकाशित भएको थियो । साथै दशरथ रङ्गशालामा सौर्य ऊर्जा मार्फत फ्लोड लाइटको प्रयोगको बारे पनि लेख प्रकाशित भएको थियो । थाइल्यान्डको प्रिन्स अफ सोङ्कला विश्व विद्यालयको सहकार्यमा सन् २०२१ मा एडभान्स स्ट्याटीकल प्याकेजमा उनको सहकार्य थियो । नेपाल इभालुसन सोसाइटी र जीएचएमकै सहकार्यमा भएको ‘ डिसिजन मेकिङ टुल्स फर इफेक्टिभ मनिटरिङ एन्ड एभालुएसन, अफ डेभलम्पेन्ट प्रोजेक्ट २०२१ ’ मा उनी सहभागी थिए । सोही वर्ष सस्टीनेबल स्टडी एन्ड रिसर्च सेन्टर(एसएसआरसी)को तीन दिने ‘ क्वालीटेटिभ अनुसन्धान’ सम्बन्धी तीन दिने कार्यशालामा उनी सहभागी थिए । सन् २०२१ मा ओमले सोक्ला विश्व विद्यालय र अपरेसन रिसर्च सोसाइटी अफ नेपालको व्यवस्थापनमा भएको ‘सस्टीनेबल इनर्जी फर मिटीगेसन एन्ड एडम्पसन अफ क्लाइमेट चेन्ज एन्ड ग्लोबल वार्मीङ’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सोही विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा उनले सन् २०२२ को सुरुवाती चरणमा नै नेपालको पर्यटन विकासमा कोभिड १९ परेको असरका बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यी प्राज्ञिक विषयका बाबजुद उनको मूल परिचय भने कराँतेकर्मी नै हो । यसै क्रममा उनले करातेका विभिन्न महत्त्वपूर्ण जिम्मेवारी पुरा गरी सकेका छन् । वित्तीय, प्राज्ञिक र खेल क्षेत्रमा उत्तिकै छाएका ओम नेपाली राजनीतिमा पनि सक्रिय नाम हो । उनी विगतमा नेकपा रहँदा छोटो समय केन्द्रीय कमिटीमा पनि मनोनीत भएका थिए । एमालेले २०७३ सालमा आयोजना गरेको मेची महाकाली अभियानमा अोमले भिआइपीको सुरक्षा कमान्ड सम्हालेका थिए । उनी एमालेका पूर्व बाग्मती प्रदेश सदस्य हुनुका साथै खेलकुद इन्चार्ज पनि हुन् । एमालेको भातृ सङ्गठन नेपाल खेलकुद महासङ्घका उनी पूर्व उपाध्यक्ष हुन् । सन् १९९८ देखि कराते रेफ्रीको रूपमा सक्रिय उनले विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा करातेमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
यी यावत सफलताका लागि उनले तिन दर्जन भन्दा बढी संस्थाबाट सम्मको अवसर पाइ सकेका छन् । खेलाडीको रूपमा पनि यावत सफलता पाएका उनको यो क्रम कम उमेर देखि भेट्रानसम्म कायम नै रह्यो । यसै वर्ष अस्ट्रेलियामा भएको विश्वकपमा स्वर्ण पदक जितेका उनले सन् २००७ मा स्पेनमा भएको विश्व च्याम्पियनसिपमा कुमुते र कातामा पदक जितेका थिए भने २००६ को विश्व गोजुरियो कराते प्रतियोगितामा स्वर्ण पदक हात पारेका हुन । थुप्रै सफलताका साथ आफ्नो नाम लेखाएका ओमलाई समग्रमा चिन्नु पर्दा उनी एउटा यस्तो कराँतेकर्मी हुन् जो काता र कुमुतेमा खेलाडी, प्रशिक्षक ,रेफ्री र व्यवस्थापककै रूपमा छवि बनाउन सफल छन् । राजनीति, वित्तीय, गीत सङ्गीत, कलाकारिता र प्राज्ञिक क्षेत्रको सफलताले नेपाली खेलकुदले पाएको एउटा उपहारको रूपमा उनी स्थापित छन् ।
खेलकुदकै हकमा भन्ने हो भने गोजुरियोको सातौँ डान उनी रेफ्री र इन्सट्रक्टरकै रूपमा मास्टर हुन् । सन् २००३ देखि उनी अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् । उनले कराते रेफ्रीको यावत कोर्स गरेका छन् । विविध क्षेत्रमा यावत सफलता पाएका ओम कराते महासङ्घलाई अनुशासनको दायरामा राख्न र बोल्ड निर्णयका लागि परिचित छन् । उनका उपलब्धि एउटा सानो लेखमा उतार्न पूर्ण नहुन सक्छ । समग्रमा एउटै वाक्यमा भन्नु पर्दा नेपाली खेलकुदले पाएको एउटा बह्आयमिक व्यक्तित्व नै डा. ओमकृष्ण प्रसाईँ हुन् भन्दा अत्युक्ति नहोला ।
WRITE COMMENTS FOR THIS ARTICLE