मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार

काठमाडौं ,प्रधानमन्त्री वालेन्द्र शाहको विगतको र्‍याप ब्याटलमा प्रयोग भएका असंवेदनशील शब्दप्रति आलोचना चुलिँदै गएको छ। ती शब्द हटाउन तथा सार्वजनिक रूपमा स्वीकारोक्ति र माफी माग्न दबाब बढिरहेको छ। यसक्रममा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईसँग सहयोग माग्दै विषयलाई थप संस्थागत रूपमा उठाउन पहल गरेका छन्।

पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले प्रधानमन्त्रीले र्‍याप ब्याटलमा प्रयोग गरेका शब्द सच्याइदिए हुन्थ्यो भन्ने मात्रै आफ्नो माग रहेको स्पष्ट पारे। “नत्र यति तुच्छ गाली गरेको छ त्यो आम बन्ने भयो। प्रधानमन्त्रीलाई केही गर्न नसक्ने उहाँले नहटाउने। अरूले गाली गर्दा हामी कहाँ उभिन सक्छौँ, सक्दैनौँ,” उनले भने, “यो अल्पसंख्यक सीमान्तकृत समुदाय भयो। उहाँ पहिला आर्टिस्ट एउटा कुरा थियो। मेयर हुँदै हटाउनु पर्ने, त्यति बेला नि हटाएको रैनछ।”

उनले आफूले उक्त सामग्री पहिले नहेरेको तर पछिल्लो घटनाक्रमपछि मात्र हेर्न बाध्य भएको बताए। “मैले त हेरेको पनि थिइन, अस्ति एक जना वालेनको विरुद्धमा भिडियो राख्यो भनेर पक्राउ गर्‍यो। त्यसपछि आफूलाई गाली गर्नेलाई पक्रने, आफूले यस्तै गाली गरेको छ महिला र अल्पसंख्यकलाई भनेर फेरि सेयर गर्दा मैले हेरे। हेर्न नसक्ने खालको छ। एकचोटी हेर्नुहोला। कति असंवेदनशील छ महिलाकै लागि र यौनिक, लैङ्गिक अल्पसंख्यकहरुको लागि। त्यसमा तपाईँहरूले पनि आवाज उठाइदिनुपर्‍यो।”

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले जिज्ञासा राख्दै भने, “उहाँहरू त्यो र्‍याप ब्याटल खेल्नुहुन्थ्यो होइन? त्यसमा बोलेको त्यस्तो?”

लैङ्गिक तथा यौनिक अल्पसंख्यक जेनजी युवा बाबु दुमि राईका अनुसार अहिले सामाजिक सञ्जालमा ‘पुरानो कुरा किन ल्याएको’ भन्ने प्रश्न उठे पनि समुदायले यस विषयमा पहिलेदेखि नै आवाज उठाउँदै आएको छ। “हामीलाई त्यो १२ वर्ष अगाडि अपलोड भएको भन्ने जानकारी थिएन। मैले दुई–तीन वर्ष अगाडि थाहा पाएको थिएँ। त्यसमा हामी सबै होल कम्युनिटीले नै आवाज उठाएको हो, संस्थागत हिसाबबाट पनि। दुर्गा प्रसाईँले एकदम असंवेदनशील कुरा बोलेर मुद्दा हालेको हो। तर, साइबर ब्युरोले खासै चासो दिएन,” उनले भने।

उनका अनुसार समुदायभित्रै पनि केही भ्रमहरू रहेका छन्। “अहिले समुदायको केही ग्रुपको बुझाइ गलत छ। हाम्रो समुदायको मान्छेलाई समानुपातिकमा लग्यो, अब सबै चिज ठिक भयो भन्ने खालको गलत बुझाइ छ। हाम्रो माग के मात्रै हो भने, पुरानै कुरो भए पनि उहाँको कला हो, तर गल्ती त भयो नि। एटलिष्ट गल्ती स्विकार्नुस् र त्यसमा अपोलोजाइज गर्नुभयो भने, रियलाइज गर्नुपर्‍यो भन्ने मात्रै हो हाम्रो।”

बाबु दुमिले महिलावादी समूहहरूसँगको छलफलमा समेत गम्भीर चिन्ता व्यक्त भएको बताए। “फेमिनिष्टहरुसँग भेटेर कुरा गर्दा महिलाहरूको विरोध त्यति ठूलो हुन्छ नि। बलात्कारको कुराहरू एकदमै नर्मल रूपमा राखिएको छ। त्यो अलिकति तपाईँहरूले पनि उठाइदिनु भयो भने हामीलाई सहज हुन्छ। त्यो जायज कुरा जेनुइन केस हो।”

उनका अनुसार विगतमा विषयले अपेक्षित ध्यान नपाए पनि अहिले प्रधानमन्त्रीकै सन्दर्भमा जोडिएपछि बहस व्यापक बनेको छ। “पहिले हाइलाइट भएन हामीले कुरा उठाउँदा। तर अहिले प्रधानमन्त्री भएकोले सबै चिज छरपस्ट भयो। जताततै सोसल मिडियामा छ। पुरानो कुरा भए पनि गल्ती नै हो उहाँको।”

सुनिल बाबु पन्तका अनुसार यस विषयमा साइबर ब्युरोमा निवेदनसमेत दर्ता भइसकेको छ।

समुदायको प्रमुख माग सामग्री हटाउनु मात्र नभई सार्वजनिक रूपमा माफी माग्नु पनि रहेको उनीहरूले स्पष्ट पारेका छन्। “उहाँले माफी पनि माग्नु पर्‍यो। ५१ प्रतिशत महिलालाई अनि यौनिक, लैङ्गिक अल्पसंख्यकलाई गाली गरेको कुरा त माफी माग्नु पर्‍यो नि। सदाशयता त हुनुपर्‍यो नि। पुरानो कुरा हो, सुध्रिने मौका पाउनु पर्‍यो। प्रधानमन्त्री भैसकेपछि पुरानो गल्तीलाई स्वीकारेर एक खालको माफी पनि माग्नु पर्छ,” उनीहरूले भने, “बलात्कार गर्न पाउनुपर्छ जस्तो आशय दिने गरी प्रधानमन्त्रीले बोल्नु भएको छ।”

यसमा प्रतिक्रिया जनाउँदै हर्क साम्पाङ राईले आश्चर्य व्यक्त गरे, “ए त्यस्तो पो छ, त्यस्तो पनि गीत?”

बाबु दुमि राईका अनुसार केहीलाई ‘छक्का’ वा ‘हिजडा’ जस्ता शब्द सामान्य लाग्न सक्छन्, तर ती शब्दले समुदायमाथि गहिरो सामाजिक र मानसिक असर पार्ने गरेको छ। “हामी त तातेताते गरेदेखि नै त्यही शब्दले प्रहार भएर पढ्न पाएको हुँदैन। हामीलाई त्यही शब्दले जिउँदो लाश जस्तो बनाएको हुन्छ। घर परिवारबाट निकाल्छ, स्कुलमा राम्रोसँग पढ्ने वातावरण हुँदैन। पछि रोजगार पाउँदैन। लोक सेवामा आरक्षण दिँदैन। प्राइभेट सेक्टरमा झन् दिँदै दिँदैन। अपहेलना गरिन्छ,” उनले भने।

उनले राज्य संयन्त्रभित्र अझै पनि विभेद कायम रहेको आरोप लगाए। “नागरिकता लिनका लागि राज्यले नाङ्गो बनाएर तपाईँको शरीरमा के अङ्ग छ भनेर हेर्छ। हरेक चिजबाट सीमान्तकृत वर्ग हौँ हामी। भाषण र विधि–विधानमा समावेश गरेको छ, व्यवहारिक रूपमा छैन। त्यही पार्टीमा प्रतिनिधित्व गरिराख्दा यस्तो कुराले झनै डिमोटिभेट गर्छ। हामी त झन् पछि पर्ने भयौँ। पितृसत्तालाई मात्रै अगाडि लग्ने भयो यो कुराले।”

उनका अनुसार समुदायको माग स्पष्ट छ, पुरानो सामग्री भए पनि असंवेदनशील अंश हटाइयोस् र नेतृत्व तहबाट आत्मालोचना होस्। “एटलिष्ट रियलाइज गरेर डिलिट गर्नुपर्‍यो भन्ने मात्रै हो। अरू केही छैन। कुनै रिसइबी छैन हामीसँग, प्रतिशोध छैन। अहिलेको सरकार सफल होस् भन्ने सबै जनाको चाहना हो। अब त सफल हुनुपर्छ भन्ने छ।”

लैङ्गिक तथा यौनिक अल्पसंख्यक जेनजी युवा राईका अनुसार साइबर ब्युरोमा निवेदन दर्ता गरेपछि उल्टै समुदायमाथि दबाब र दुर्व्यवहार बढेको छ। “अहिले हामीमा बुलिङ, ह्यारेस टाइपको आएको छ साइबर ब्युरोमा निवेदन गरेपछि। गाली गलौजमा आएका छन्,” उनले भने।

 

यसमा प्रतिक्रिया दिँदै हर्क साम्पाङ राईले सामाजिक सञ्जालमा हुने आक्रमण आफूले पनि भोगेको अनुभव सुनाए। “नेपालमा सबैभन्दा धेरै गाली खाने त मै हो। मेरो फेसबुक नै उडाइदियो मलाई गाली गर्नेहरूले,” उनले भने।

बाबु दुमिले “फेसबुक भेरिफाइ गर्नु भएको थिएन?” भन्ने जिज्ञासा राख्दा हर्कले जवाफ दिए, “त्यो पनि गरेको थिइन। गाली त बेसरी गर्छ। तपाईँहरूले पनि खाइराख्नु भएको छ।”

बाबु दुमिले सहमति जनाउँदै भने, “एकदमै खाइरहेका छौँ।”

पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तले यो विषयमा औपचारिक पहल गरेपछि झन् आक्रमण बढेको बताए। “यो केस हालेपछि झन् धेरै छ गाली,” उनले भने।

हर्क साम्पाङ राईले सामाजिक सञ्जालको वातावरणप्रति चिन्ता व्यक्त गर्दै भने, “सामाजिक सञ्जालमा गाली चाहिँ गर्छन्। सामाजिक सञ्जाल दूषित भयो। गाली गर्नेको लर्को हुन्छ। म तपाईँलाई सकेको सहयोग गर्छु। त्यो कन्टेन्ट उहाँले डिलिट गर्ने नगर्ने भन्ने उहाँकै कुरा होला। त्यही पनि मैले भन्ने कुरा भन्छु। अब त डिलिट गर्दा हुन्छ होला। पहिला एउटा व्यक्तिको रूपमा, आर्टिस्टको रूपमा १२ वर्ष पहिले के भन्नुभयो। अहिले तपाईँहरूको माग सान्दर्भिक एवं जायज छ।”

बाबु दुमि राईले समुदायको माग प्रतिशोध नभई संवेदनशीलता र स्वीकारोक्तिमै केन्द्रित रहेको स्पष्ट पारे। “अन्जानमा भएको गल्ती थियो भनिदिए पनि हामीलाई केही राहत त हुन्थ्यो नि। पुरानो भिडियो त हो, तर किन निहुँ खोजेको भन्नेमा के हुन्छ भने, पुरानै भिडियो भए पनि रिल्सहरूमा कहीँ कतै एगेन एगेन आइराख्छ। फेरि म्यासेजहरू त्यस्तै खालको। हामीलाई त्यसले सधैँ नै हानिराख्छ,” उनले भने।

हर्क साम्पाङ राईले यसलाई अधिकार र सम्मानको प्रश्नका रूपमा व्याख्या गरे। “कसैले कसैलाई अपमान गर्नुहुँदैन। सम्मानजनक जिउन पाउने अधिकार संविधानमै छ त, कि त संविधान मान्दिन भन्नुपर्‍यो। तपाईँले मलाई अपमान गरेर, मैले तपाईँलाई अपमान गरेर भएन नि भन्ने कुरा न हो यो चिज। यहाँहरूको फाइट त लामै छ,” उनले भने।

सुनिल बाबु पन्तले राज्यको दायित्वतर्फ ध्यानाकर्षण गराउँदै भने, “अरूले यस्तो खालको अश्लील शब्दहरू प्रयोग गर्दा राज्यले जोगाउनु पर्ने हो यो समुदायलाई। उहाँ त प्रधानमन्त्री नै हुनुहुन्छ।”

हर्कले राज्यको भूमिकाबारे थपे, “राज्यले सबै नै जोगाउनु पर्छ। यहाँ कराउँदै गरेको चरालाई पनि जोगाउनु पर्छ, रुखलाई त जोगाउनु पर्छ, तपाईँहरू त मान्छे हो।”

समुदायका प्रतिनिधिहरूका अनुसार समस्या केवल व्यक्तिगत अभिव्यक्ति नभई राज्य संयन्त्रको व्यवहारसँग पनि जोडिएको छ। “सत्तामा जो छ उसैको पुजारी हुन्छ। यो मलाई ठिक नलागेको हो। अभ्यास त्यस्तै छ,” हर्कले भने। उनले आफूले समेत धम्की भोगेको अनुभव सुनाउँदै भने, “मलाई अस्ति मार्नेसम्मको धम्की दियो। ‘मार्ने, तेरो घर जलाउँछु’ सम्म भन्यो। दुई जना व्यक्तिले। उहाँहरूकै समर्थक रहेछन्। साइबर ब्युरोमा उजुरी दिएको छु।”

उनका अनुसार राज्य निकायहरू निष्पक्ष नदेखिएको गुनासो व्यापक छ। “निकाय भन्ने चाहिँ सत्ता कसको छ उसैको भक्तिभाव पूजाआजामा लाग्छ,” उनले भने।

बाबु दुमि राईले ‘व्यक्ति पूजाको प्रवृत्ति’प्रति पनि प्रश्न उठाए। “यो भगवान् बनाउने प्रवृत्ति राम्रो होइन। झकझकाउन त पाउनु पर्छ। प्रधानमन्त्री हाम्रो पनि अभिभावक हो। राज्य जसले चलाइरहेको छ, हाम्रो पनि त अभिभावक हो नि,” उनले भने।

हर्क साम्पाङ राईले राज्य निष्पक्ष हुनुपर्नेमा जोड दिए। “राज्य निष्पक्ष हुनुपर्छ,” उनले भने। आफ्नो अनुभव सुनाउँदै उनले थपे, “निष्पक्ष नहुँदो रहेछ मान्छेहरू। मैले गृहमन्त्री सुधनलाई भेटेर नै भनेको थिएँ, अझै पनि एक्सन लिनु भएको छैन। किनभने ‘हाम्रो समर्थक हो’ भन्ने लागेको छ नि। अनि समर्थकलाई नै पक्रेर जेलमा हाल्न थाल्यो भने पार्टी रहन्छ त भन्ने पनि होला। तर, त्यो पदमा पुगिसकेपछि निष्पक्ष हुनुपर्छ। म चाहिँ जतिसक्दो आफूलाई निष्पक्ष राख्ने कोसिस गर्छु। मेरो–तेरो भन्दिन।”

उनले कानुनी शासनको मर्मबारे पनि आफ्नो धारणा राखे। “मेरै पार्टीको मान्छेले नराम्रो गरे उसलाई पनिस गर्नुपर्छ भन्ने मनसाय मेरो चाहिँ छ। तर, अब मेरो मनसाय त्यस्तो छ भन्दैमा उहाँहरूको पनि हुनै पर्छ भन्ने चाहिँ हुँदैन। म चाहिँ अलि निष्पक्ष नै हुनुपर्छ भन्ने मान्यताको मान्छे हो,” उनले भने।

हर्कले भविष्यमा जिम्मेवारी पाए पनि समान मापदण्ड लागू गर्ने प्रतिबद्धता जनाए। “कुनै दिन त्यस्तो पोस्टमा पुगे भने मेरो कारबाही गराई, मेरो–तेरो भन्ने हुँदैन। मेरै पार्टीकाले नराम्रो गरे पनि उसलाई सजाय दिनैपर्छ। अरूकोले राम्रो गरे पनि उसलाई पुरस्कार दिनैपर्छ,” उनले भने।

उनले सरकारी संयन्त्रको कार्यान्वयन क्षमताप्रति प्रश्न उठाए। “तपाईँले रिपोर्ट त दिनुभयो, काम गर्छ कि गर्दैन?” उनले प्रश्न गरे।

बाबु दुमि राईले यो विषयलाई अझ सशक्त रूपमा उठाउन आग्रह गर्दै भने, “तपाईँले यो आवाज सदनमा उठाइदिनुहोस्। यसमा तपाईँहरू कन्फ्युज हुनुभयो भने।”

फेसबुक खाता अझै फिर्ता नआएको विषयमा बाबु दुमिले जिज्ञासा राख्दा हर्कले चेतावनीपूर्ण शैलीमा भने, “तपाईँको पनि उडाइदेला, बी केयरफुल।”

समग्रमा, समुदायको माग स्पष्ट छ, पुरानो भए पनि असंवेदनशील सामग्री हटाइयोस्, त्यसबाट परेको असर स्वीकार गरियोस्, र राज्य नेतृत्वले समावेशी तथा जिम्मेवार व्यवहार प्रदर्शन गरोस्। हर्कसँगको भेटमा मिस्टर गे हेण्डसम मनिन्द्र सिंह दनुवार पनि थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x