शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

आदर्श पिता अनि कर्तव्यपरायण छोरीको कथा हो “पिता” : गोपिकृष्ण प्रसाईं

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

फाल्गुन २४, डा.ओमकृष्ण प्रसाई खेलकूद अनि राजनैतिक क्षेत्रका एक योग्य अनि सफल व्यक्तित्व हुन् ।उनी आफ्नो क्षेत्रको अलवा नेपाली साहित्यको श्रीवृद्धिमा समेत निरन्तर लागिरहेको प्रष्ट देख्न सकिन्छ।उनले धेरै सुन्दर रचनाहरु पस्केर आफ्नो अब्बल छवि उजागर गरिसकेका छन्। समसामयिक अनि सामाजिक परिवेशमा सुहाउँदा गीतहरु सृजना गर्न खप्पिस प्रसाईले उम्दा गीतहरु सृजना गर्दै दर्शक स्रोताको मन जितिरहेका छन् । हालसालै बजारमा आएको उनको म्युजिक भिडियो पितामा परिवारप्रति बुबाको दायित्व, जिम्मेवारी अनि अविचलित संघर्षका सग्ला भावनाहरु असरल्ल छरिएको देख्न सकिन्छ।उनको गीतलाई सफल बनाउन गायिका रचना रिमालको मुख्य भूमिका रहेको छ,रिमालको स्वरले प्रसाईको गीतलाई अझ उचाईमा पुर्याएको आभास दिन्छ।अनु आचार्य र प्रसाईं स्वयंले अभिनय गरेको यस गीतमा बाल कलाकारको रुपमा नायरा प्रसाईं र पासाङ शेर्पालाई देख्न सकिन्छ। यस म्युजिक भिडियोका संगीतकार राज्य राई डेमिन र म्युजिक एर्यान्जर सन्जय हमाल हुन् ।

आमाको संघर्ष जस्तै बुबाको संघर्षका पाटाहरुलाई अत्यन्तै कलात्मक रुपमा प्रस्तुत गरिएको म्युजिक भिडियो निक्कै मार्मिक छ। आफुले अतिनै मेहनत अनि दुख गरेर सन्तानका खुसीको लागि पिताले गरेको त्यागको चर्चा आफ्नै छोरीले गर्दा बुबा भावविव्हल भएको दृष्यले सबैको मन तान्छ्नै। रहहरु, थकानहरु सबै बिर्सेर आफ्ना चाहनाहरुलाई तिलान्जली दिने पिताको वास्तविकता उजागर गर्ने छोरीको पिताप्रतिको असीम माया, समर्पण र सम्मानले गीतको गरिमालाई अझ बढाएको छ। यो गीतमा आफ्ना सन्तानले बुबाको अमीट माया र निश्वार्थ प्रेमलाई बुझेर प्रकट गरेका सब्दहरु आफैमा उम्दा कोटीका छन् । भोक र रोगलाई बिर्सेर संघर्षको मैदानमा परेड खेल्ने बुबाको अत्यन्तै श्रध्दा र सम्मानले अर्चना गरेका छोरीका सब्दहरुले बाबू भावुक भएको दृश्यले गीतको आयतनलाई बढाएको छ। वास्तवमा आमा, बुबाले आफ्ना सन्तानप्रति निर्मल निश्चल रुपमा माया/प्रेम प्रवाहित गरिरहेका हुन्छन्। सन्तानको खुसीमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने पिताको मनका भावहरु प्रकट भएको यो गीतमा आजको समाजमा पिता अनि सन्तानले गर्नु पर्ने आ-आफ्ना कर्तव्यहरु राम्रो संग मुखरित भएका छन् । माता, पिताका आशय सन्तानले बुझेपछिको सुन्दरता गीतमा प्रकट भएको छ। गीतले एउटा आदर्श परिवारको कल्पना गरेको छ, एउटा आदर्श पिता अनि कर्तव्यपरायण छोरीलाई प्रस्तुत गरेको छ। आज हरेक कुराहरुको नाफा, घाटा खोज्ने यो समाजमा यो सुन्दर गीतले सुन्दर सन्देश प्रवाह गरेर समृध्द समाज निर्माणमा रचनात्मक भूमिका खेल्ने आशा राख्न सकिन्छ।

छोरीलाई दुख र मेहनत गरि पढाएर ग्र्याजुयट गराउन सफल एउटा बुबाको संघर्षले भरिएको कहानी समेटिएको गीत निक्कै उच्च कोटीको छ।ग्र्याजुयट गरेकी छोरीले सबै सामु आफ्ना नैतिकवान बुबाले खाई, नखाई, दिन रात नभनी आफ्ना लागि गरेको त्याग, तपस्या अनि साधनाको मुक्त कन्ठले तारिफ अनि सम्मान गरेकी छन् ।त्यसरी छोरीले सबै सामुन्ने आफ्ना बुबाप्रति प्रकट गरेका सम्मान, माया अनि अनुरागका झरिला सब्दहरुले म्युजिक भिडियोको सुन्दरतालाई बढाएको छ, उचाईलाई बढाएको छ।जसरी एउटा परिवारमा आमाको विशिष्ट भूमिका हुन्छ,त्यसैगरि बुबाको भूमिका पनि कम हुंदैन है भनेर गीतका हरफहरुले बोलिरहेको आभास हुन्छ। आमाको जस्तै उम्दा भूमिका निभाउने त्यागी, तपस्वी अनि सन्तानप्रति समर्पित बाबुका कथाहरुलाई पनि त्यतिकै उच्च मूल्यांकन सन्तान, परिवार अनि समाजले गर्नु पर्ने सन्देश गीतले दिएकोअनुभूत गर्न सकिन्छ।गीत अत्यन्तै लालित्यपूर्ण अनि सुमधुर संगीतमा सलल बगेको छ। आमाको गरिमा अत्यन्तै उच्च कोटीको हुंदाहुंदै बुबाको भूमिकापनि त्यही उचाईमा पुगेको अनुभुति दिने गीतले एउटा सुखी र सुन्दर परिवारको कल्पना गरेको छ।आमा, बुबालाई बराबरी सम्मान दिएर एउटा आदर्श परिवार निर्माण गर्नुपर्ने कुरामा गीतले जोड दिएको छ। समग्रमा पिता म्युजिक भिडियोले आमा बुबा दुबैको उचाईलाई बढाएको छ। समाजलाई रचनात्मक एवम गतिशील बनाउन बुबाको शीर्ष भूमिकाको महिमा यस गीतले राम्रोसँग उजागर गरेको छ।यति राम्रो गीत दर्शक, स्रोता सामु पस्केर धेरैको मन जित्न सफल डा. ओमकृष्ण प्रसाईलाई हार्दिक बधाई अनि अनेक शुभकामना!!!

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x