मङ्लबार, जेष्ठ १२, २०८३
Tuesday, May 26, 2026

गुरु केदार बरालको सक्रियतामा विपद व्यवस्थापन समाजले गर्यो ओखलढुंगामा शैक्षिक सामाग्री सहयोग

ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–८, टारकेराबारीस्थित श्री जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित र हर्षित देखिएका थिए। समाजले गरेको सहयोगले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको विद्यालय परिवारले जनाएको छ।

कार्यक्रममा पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष तथा ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष गुरु केदार बरालले शिक्षा नै जीवन परिवर्तनको सबैभन्दा बलियो आधार भएको बताउँदै विद्यार्थीहरूलाई ठूलो सपना देख्न, निरन्तर मेहनत गर्न तथा कठिन परिस्थितिसँग कहिल्यै हार नमान्न आग्रह गर्नुभयो। उहाँले शिक्षामा गरिएको सहयोग र लगानी कहिल्यै खेर नजाने उल्लेख गर्दै यसले भविष्यमा सक्षम, सचेत र समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका सदस्य तथा अधिवक्ता सुरेन्द्र बोगटीले शिक्षाको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर लागिरहन प्रेरणा दिनुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अवसरसँग जोड्न समाजको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।

समाजसेवी दिनेश कार्कीले ओखलढुङ्गालाई पोकली , झरना तथा प्राकृतिक सम्पदामार्फत चिनाउने अभियानसँगै समाजसेवाका उदाहरणीय कार्यहरू गुरु केदार बरालले गरिरहनुभएको उल्लेख गर्नुभयो। उहाँले यस्ता सामाजिक अभियानमा उहाँहरूसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै समाजसेवामार्फत सकारात्मक परिवर्तन सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।

त्यस्तै, समाजसेवी दीपक कटुवालले खोटाङ र ओखलढुङ्गाको भूगोल तथा सामाजिक परिवेश धेरै हदसम्म समान रहेको उल्लेख गर्दै ओखलढुङ्गा आएर विद्यार्थीहरूसँग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो।

आदित्य मुडबरीले टारकेराबारी क्षेत्र आफूलाई अत्यन्त मन परेको बताउँदै यहाँका विद्यार्थीहरूको शैक्षिक विकासका लागि आगामी दिनमा पनि हरेक सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालयप्रति देखाएको आत्मीय सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता सहकार्यले विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको उल्लेख गर्दै विद्यालय एक्लैले सबै जिम्मेवारी पूरा गर्न नसक्ने भएकाले सामाजिक संस्थाहरूको साथ आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमको सञ्चालन शिक्षक बासु गौतमले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित, प्रेरणादायी तथा भावनात्मक ढंगले सञ्चालन गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र सकारात्मक सोचतर्फ अग्रसर हुन प्रेरित गर्नुभएको थियो।

विद्यालय परिवारले ओखलढुङ्गा विपद् व्यवस्थापन समाज तथा सहयोगमा संलग्न सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा नयाँ आशा, उत्साह र आत्मबल थपिएको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x