शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

चुनावी सरगर्मी : रसुवामा समीर र आचार्यबीच कडा प्रतिस्पर्धा हुने आकलन

  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

रसुवा , फागुन २१ गते हुन गइरहेको चुनावले रसुवाको राजनीतिक माहोल दिनानुदिन तात्दै गएको छ। यसपटकको चुनावमा प्रतिस्पर्धा मुख्यतः नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारबीच हुने अनुमानसँगै गाउँ–बस्तीदेखि चिया पसलसम्म चर्को बहस र उत्सुकता देखिन थालेको छ।
नेकपाबाट उम्मेदवार बनेका माधव लामिछाने ‘समीर’ जनयुद्धकालदेखि निरन्तर राजनीतिमा सक्रिय अनुभवी नेता हुन्। स्थानीय जनतामा ‘काम गर्ने नेता’को छवि बनाएका समीरले रसुवाका विभिन्न भेग जोड्ने सडक सञ्जालका ट्याग खोल्न गरेको पहल, युवालाई रोजगारीसँग जोड्न ल्याएको कार्यक्रम र चिलिमे जलविद्युतको सेयर स्थानीय जनतालाई दिलाउन खेलेको भूमिकाले उनलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ। समर्थकहरू भन्छन्, “समीरले विकासलाई भाषणमा होइन, काममा देखाए।”
उता नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका मोहन आचार्य निर्माण व्यवसायी पृष्ठभूमिका अनुभवी नेता हुन्। यस अगाडि पनि चुनाव जितिसकेका आचार्यले यसपटक भने जनअपेक्षाअनुसार काम नगरेको आरोपको सामना गरिरहेका छन्। स्थानीय जनताका जनजिविकाका मुद्दा पर्याप्त रूपमा सम्बोधन नभएको जनगुनासोले उनको चुनावी यात्रामा दबाब थपिदिएको छ ।
रसुवा बुझ्ने राजनीतिक समीक्षकहरूका अनुसार, यसपटक रसुवाको चुनाव मुख्यतः नेकपा र नेपाली काङ्ग्रेसबीचको प्रतिस्पर्धामै केन्द्रित हुनेछ। विकास, रोजगारी र स्थानीय अधिकारका सवालमा कसले जनविश्वास जित्छ भन्ने निर्णायक उत्तर मतपेटिकाले नै दिनेछ।
चुनावी समीकरणलाई अझ रोचक बनाउने अर्को घटनाक्रम पनि आजै देखिएको छ। नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालको नेतृत्वमा आज ७५ जनाभन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन्। नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रेम तामाङलाई ढकालको कारणले कमजोर बनाउने विश्लेषण छ। अर्कोतर्फ, रास्वपाका उम्मेदवार बसन्त भट्टको तुलनामा काङ्ग्रेसको माहोल केही बलियो देखिएको छ । र पनि निर्णायक टक्कर भने नेकपा–काङ्ग्रेसकै बीच हुने संकेत स्पष्ट छ।
अब प्रश्न एउटै छ—रसुवाले विकास र विश्वासका आधारमा कसलाई रोज्ने? यसको जवाफ फागुन २१ को मतपेटिकाले दिनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x