सरकार, मेरो प्रश्नको उत्तर देऊ-अनुजा शर्मा (संस्कृति)

सरकार मेरो प्रश्नको उत्तर देउन
सरकार, आज म नारा लिएर आएको होइन, आज म फूल पनि बोकेर आएको होइन, म त च्यातिएको आत्मा, चुपचाप बगेको रगत र रात-रातभर बाँच्न नसकेको निद्रा बोकेर आएको हुँ।
भन, कानुनको कुन धारामा नारीको डर मापन गर्छ ? कुन दफाले लेख्छ “आजदेखि ऊ फेरि सुरक्षित छ भनेर” ?
तिमीले त जरिवानाको अंक लेख्यौ, जेलको वर्ष गन्यौ, फैसला सुनायौ- तर सुन्यौ त उसको भित्री चिच्याहट, जो अदालत बाहिर आजसम्म रोइरहेकि छे? कहिले उच्च अदालत, कहिले सर्वोच्च अदालत त कहिले पुलिस चौकी धाएकी छे?
सरकार, बलात्कार एक दिनको अपराध होइन, यो त हरेक बिहान आफ्नै शरीरसँग डराएर उठ्नु हो, हरेक भीडमा आफ्नै सास लुकाउनु हो।
तिमी भन्छौ- “कानुनमा सबल छ” तर किन पीडितलाई फेरि- फेरि प्रमाण दिनु पर्छ कि ऊ झूट बोलिरहेकी छ ?
कानुनले अपराधीलाई सोध्दैन- “तिमी किन बाँचेको जस्तो हिँडिरहेछौ ?” तर पीडितलाई सोध्छ- “किन राति बाहिर गएकी ?” “किन चिच्याइनौ ?” “किन ढिलो उजुरी गर्यौ ?”
सरकार, यी प्रश्न त अपराधभन्दा पनि धेरै निर्मम छन्।
भन, जरिवानाले कुन घाउ सुकाउँछ ? कुन पैसाले रातको डर किन्छ ? कुन सजायले उसको आत्मा फिर्ता ल्याउँछ ?
अपराधी जेलबाट निस्कन्छ, नयाँ नाम, नयाँ जीवन, नयाँ अनुहार बोकेर- तर पीडित ? ऊ त आफ्नै शरीरभित्र आजीवन बन्दी रहन्छ।
तिमी भन्छौ- “सम्झौता हुँदैन” तर समाजले किन भन्छ- “इज्जतको लागि चुप बस” ? किन परिवारले डराउँछ न्याय माग्दा ?
सरकार, यो केवल बलात्कार हैन, यो त व्यवस्थागत हत्या हो- नारीको आत्माको।
जब तिमी मौन बस्छौ, अपराधी हाँस्छ। जब तिमी ढिलो गर्छौ, अर्को अपराध जन्मिन्छ।
भन सरकार, न्याय कहिले आउँछ ? जब पीडित फेरि उजुरी दिन नडराओस् ? जब उसले आफ्नो शरीरलाई अपराधस्थल हैन, घर सम्झन सकोस् ?
यो कविता हैन, यो बयान हो, यो उजुरी हो, यो इतिहासमा लेखिनुपर्ने एक जिउँदो प्रश्न हो।
उत्तर देऊ सरकार- जरिवानाले होइन, साँचो न्यायले नारी कहिले सुरक्षित हुन्छ ?
कि अझै पनि तिमी मौन बस्नेछौ र हामी रोइरहनेछौँ ?
सरकार मेरो प्रश्नको उत्तर देउन…
सरकार मेरो प्रश्नको उत्तर देउन…
✍️अनुजा शर्मा (संस्कृति)
घोराही उपमहानगरपालिका-३ बेलुवा दाङ्ग
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE