बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

तल्नुबगरमा बेलिब्रिज सञ्चालन

  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ। जाजरकोटको नलगाड नगरपालिका-१२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको उक्त ‘बेलिब्रिज’ आजदेखि सञ्चालनमा आएको हो ।

भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्नुबगर बेलिब्रिज निर्माण सम्पन्न भएर सञ्चालनमा आएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए।

तीन वर्षअघि निर्माण सुरु भएको उक्त ‘बेलिब्रिज’ विविध कारणले ढिलासुस्ती भएको थियो । डोल्पाका राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय र सञ्चारकर्मीको निरन्तर खबरदारीका कारण ‘बेलिब्रिज’ सञ्चालनमा ल्याउन सफल भएको प्रजिअ दाहालले बताए । बेलिब्रिज’ सञ्चालनमा आएसँगै डोल्पासम्म सिधा सडक सञ्जाल जोडिएको छ, गाडी दुनैसम्म पुग्न थालिसकेका छन्, अब बर्खामा यातायात सञ्चालन गर्न भेरी करिडोरबीचका केही खोलाहरुमा ह्युमपाइप राख्न पहल भइरहेको छ’, प्रजिअ दाहालले भने ।

यो करिडोरले भारतको रुपैडियादेखि नेपालगञ्ज हुँदै चीनको सीमाक्षेत्र मोरिम्ला नाका जोड्ने भएकाले यस सडकलाई राष्ट्रिय महत्वको सडकको रुपमा लिइएको छ । करिडोरअन्तर्गत तल्नुबगर, छलगार्ड र खदाङमा पक्की पुल निर्माण सुरु भएको छ ।

भेरी करिडोर कार्यालय जाजरकोटका नायब सुब्बा दत्त लामाले कार्यालयका प्राविधिक टोलीले शुक्रबार भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको बताए । ‘बेलिब्रिज’ले २५ टनसम्म भार थेग्नसक्ने उनले जानकारी दिए।

विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले तीन करोड ८१ लाख रुपैयाँमा ‘बेलिब्रिज’ निर्माणको जिम्मा पाएको थियो । विविध कारणले ‘बेलिब्रिज’ निर्माणमा ढिलासुस्ती भए पनि अहिले निर्माण सम्पन्न भइ सञ्चालनमा आएको भेरी करिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।

भेरी करिडोर कार्यालयका अनुसार ११८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडकखण्डभित्रका ५६ किमी सडकमा अहिले काम भइरहेको छ । ६२ किमी सडक फराकिलो बनाउने काम सुरु गरिएको छ ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने करोपगार्ड, खदाङ¬, त्रिपुराकोटको ‘बेलिब्रिज’ यसअघि निर्माण भइसकेको छ । रुपगार्ड खोलाको ‘बेलिब्रिज’को काम सुरु भइसकेको छ ।

रुपगार्डको ‘बेलिब्रिज’ निर्माण भएपछि भेरी करिडोरअन्तर्गत पाँच वटा खोलाका पुल बन्नेछन् । अझै सानातिना खोलामा गरेर आठ वटा खोलामा पुल बन्न बाँकी छ । गत वर्ष वैशाख ६ गते निर्माणाधीन तल्नुबगर बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x