नेकपा एमाले बाग्मती प्रदेश अध्यक्ष चयन निर्वाचन प्रणालीबाट गर्ने
एमाले बागमती प्रदेशको अध्यक्ष पदमा सहमति जुटाउने प्रयास असफल भएको छ ।
बुधवार बिहान अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीहरुसँग गरेको सहमतिको प्रयास असफल भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचन मण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकाङ्क्षी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गरेको थियो । छलफलमा ढुङ्गेल र दाहाल दुवैले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि मतदानमार्फत नै छिनोफानो हुने गरी संवाद सकिएको एक नेताले जानकारी दिए ।
‘ आकाङ्क्षीहरूले प्रतिस्पर्धा नै गर्ने चाहाना राख्नुभयो’, अध्यक्ष मण्डलका एक नेता भने, ‘लोकतान्त्रिक पद्धतिबाट प्रतिस्पर्धा हुने देखियो ।’ उनका अनुसार अध्यक्ष मण्डलले अझै सहमतिको प्रयास भने जारी राख्नेछ ।
एमाले बागमती प्रदेश अधिवेशनमार्फत पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्यसमिति चयन हुँदैछ । निर्वाचन मण्डलले बुधवार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बिहीबार बिहान ८ बजेबाट ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE