शिक्षा र संस्कारको ३१ वर्षे यात्रा : हिमशृङ्खला एकेडेमीको स्थापना दिवस सम्पन्न

एन्टिना घनश्याम, काठमाडौं ।
गोकर्णेश्वर नगरपालिका–२ स्थित हिमशृङ्खला एकेडेमी परिसर मंगलबार बिहानदेखि नै उत्सवमय देखिन्थ्यो। बालबालिका अभिभावक र शिक्षकहरूको उपस्थितिले विद्यालय प्राङ्गण भरिएको थियो। अवसर थियो—हिमशृङ्खला एकेडेमीको ३१औँ स्थापना दिवस।
वि.सं. २०५२ साल माघ २ गते, तीन जनाको सानो छलफलबाट सुरु भएको एउटा शैक्षिक सपना आज तीन दशक पार गर्दै गोकर्णेश्वर क्षेत्रको चिनिने शैक्षिक संस्थाका रूपमा उभिएको छ। सीमित साधन, थोरै विद्यार्थी र ठूलो संकल्पबाट सुरु भएको यो यात्राले हजारौँ विद्यार्थीको भविष्य निर्माण गरेको छ।
स्थापना दिवस कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, दाङका प्राध्यापक माधव अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले विद्यालयले शैक्षिक गुणस्तर, संस्कार र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी जीवन व्यवहारको अंश बनाउनु पर्ने धारणा राख्नुभयो।
कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष दिपेन्द्र लामाले उपस्थित अभिभावक, शिक्षक तथा विद्यार्थीप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “हिमशृङ्खला केवल विद्यालय मात्र होइन, संस्कारित र जिम्मेवार नागरिक उत्पादन गर्ने साझा संस्था पनि हो।”
यस अवसरमा संस्थापक प्रधानाध्यापक नारायणभक्त श्रेष्ठले विद्यालय स्थापनाकालदेखि हालसम्मका उतार–चढाव, उपलब्धि र परिवर्तनलाई डिजिटल प्रस्तुतीमार्फत उजागर गर्नुभयो। उहाँको प्रस्तुतीले धेरै अभिभावकलाई विद्यालयको विगतसँग भावनात्मक रूपमा जोड्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. ऋषिराम पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका पूर्व शिक्षक रमेशप्रकाश ढुङ्गेल र अशोक रानामगरलाई सम्मान गरियो। सम्मानले विद्यालयको इतिहास निर्माणमा योगदान दिने शिक्षकप्रति कृतज्ञता प्रकट गरेको सन्देश दिएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षासेवी अर्जुन दङ्गालले गर्नुभएको थियो। विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक नृत्य, गीत र अभिनयले कार्यक्रममा थप रौनक थपेको थियो। सयौँ अभिभावकहरू आफ्ना छोराछोरीको प्रस्तुति हेर्दै गर्वका साथ ताली बजाइरहेका देखिन्थे।
समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा लगायत वक्ताहरूले हिमशृङ्खला स्कुलले स्थानीय समुदायमा पुर्याएको शैक्षिक योगदानको खुलेर प्रशंसा गरे।
तीन दशकभन्दा लामो यात्रामा हिमशृङ्खला एकेडेमीले केवल शैक्षिक नतिजा मात्र होइन, संस्कार, अनुशासन र सामाजिक जिम्मेवारी बोकेका विद्यार्थी उत्पादन गर्दै आएको छ । ३१औँ स्थापना दिवसले विगतको सम्झना मात्र होइन, भविष्यतर्फ अझ मजबुत कदम चाल्ने प्रतिबद्धताको सन्देश दिएको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE