शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

समावेशी समाजवादी पार्टी : समाजका सबै विविधतालाई समेट्ने राजनीतिक शक्ति

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares
काठमाडौँ ,सङ्घीय संसदमा प्रतिनिधित्व गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जेनजी आन्दोलन पछि नयाँ थपिएका २१ राजनीतिक दलमध्ये समावेशी समाजवादी पार्टी आकर्षणको केन्द्र बनेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा महिला, पुरुष, अपाङ्गता भएका, मनोरञ्जन क्षेत्रका सदस्यहरूले राजनीतिक फोर्स तयार गरेर प्रचारप्रसारमा लागेका हुन्। दशकौँदेखि नीति–निर्माणबाट उपेक्षित समुदाय पीडा, शोषण र अनुभवको ढुकुटी बोकेर अब प्रतिकारको शक्तिका रूपमा विस्फोट भएको छ।

चुनाव चिन्ह ‘श्रीवत्स’ राखिएको छ। बज्र प्रस्ताव गरेको थियो पार्टीले, तर पाएन। ध्वजा पनि प्रस्ताव गरेको थियो, दुवै चिन्ह अरू नै दलले फुत्काइसकेछन्, “श्रीवत्स चुनाव चिन्ह पाएका छौँ, एक पटक सम्झिएपछि बिर्सिँदैन,” पार्टीका सल्लाहकार तथा संरक्षक सुनिल बाबु पन्तले भने।

श्रीवत्स एक प्राचीन तान्त्रिक प्रतीक हो, जसले समृद्धि, दया, सौभाग्य र निरन्तर निरन्तरतालाई जनाउँछ। हिन्दू, बौद्ध र जैन परम्परामा यो अत्यन्त शुभ चिह्न मानिन्छ। “श्री” ले लक्ष्मी वा समृद्धिको शक्ति जनाउँछ भने “वत्स”ले हृदय–गाँठो, सम्बन्ध, तथा जीवन–ऊर्जाको प्रवाह जनाउँछ।

बौद्ध परम्परामा, श्रीवत्सलाई “अनन्त गाँठो” (endless knot/infinity knot) पनि भनिन्छ, जसले आपसी निर्भरता, करुणा, ज्ञान र सन्तुलित जीवनचक्रको अवधारणा बोकेको हुन्छ। श्रीवत्सको गाँठो सार्वभौमिक (universal) पनि हो-मानव मात्र होइन, प्रकृति, वातावरण र सम्पूर्ण जीव–जगत् एकअर्कासँग कसरी गहिरिएर गाँसिएका छन् भन्ने आध्यात्मिक सत्यलाई यो प्रतीकले उजागर गर्छ। त्यसैले श्रीवत्स भनेको ‘अनन्तता, सह-अस्तित्व, समृद्धि र शुभ ऊर्जाको गाँठो’ हो।

श्रीवत्सलाई चुनाव चिन्ह किन?

समावेशी समाजवादी पार्टीको मूल दर्शन नै विविध पहिचानहरू (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक, महिलाहरू, आदिवासी-जनजाति, मधेसी, दलित लगायत सबै समुदाय) बीचको सहअस्तित्व र समान अवसरमा आधारित छ।

श्रीवत्सको अनन्त गाँठोले यिनै मूल्यहरूलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्छ। यो चिन्हले परस्पर निर्भरता, एकता, समृद्धि, सहानुभूति र विवेकपूर्ण सामाजिक रूपान्तरणको सन्देश दिन्छ, जुन पार्टीको “समावेशिता, समानता र सामाजिक न्यायमा आधारित समाजवाद” को मार्गसँग पूर्ण रूपमा मेल खान्छ।

श्रीवत्सको गाँठो जस्तै, समाज विभिन्न धागाहरू (वर्ग, जात, भाषा, लैङ्गिकता, पहिचान) ले बनेको एउटा जटिल तर सुन्दर संरचना हो। समावेशी समाजवादी पार्टीले यी सबै धागाहरूलाई चुँडाउने होइन, जोडेर मजबुत बनाउने लक्ष्य राख्छ। त्यसैले श्रीवत्स पार्टीको चुनाव चिह्न मात्र होइन, उसको राजनीतिक दर्शन, प्रकृतिप्रति सम्मान, र मानवीय मूल्यहरूको जीवित प्रतीक हो।

पन्तले चुनाव चिन्हमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समाजका पवित्र व्यक्ति, मूल्यवान् नागरिक र सम्मानयोग्य अस्तित्वका रूपमा चिनाउन खोजेका छन्। राजनीतिक दल गठनका लागि चार महिना अघिदेखि नै पन्त वृहत् होमवर्कमा थिए।

अस्तित्वमा रहेका राजनीतिक दलहरूले प्रतिबद्धता जनाए। व्यवहारमा कार्यान्वयन गरेनन्। मायाको पहिचान नेपालको लिखित निवेदनको प्रतिउत्तरमा नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टीसहितका दर्जन बढी राजनीतिक दलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारका लागि साथ–सहयोग गर्ने प्रतिबद्धता जनाए।

२०७९ को चुनावबाट निर्वाचित २७५ सदस्यीय प्रतिनिधिसभामा औँलामा गन्न मिल्ने सांसदहरूले मात्र समुदायको हारगुहार सुनाइदिए। नीतिगत परिवर्तन भएन। संविधानमा लेखिएको अधिकार कागजमै सीमित हुन लागेको अनुभूति भएपछि पन्तले समुदाय स्वयं संलग्न राजनीतिक शक्ति निर्माण गरे। नाम राखे—समावेशी समाजवादी पार्टी। “यसलाई ससपा भन्न मिल्दैन, हाम्रो समावेशी पार्टी हो, सबै अटाउने पार्टी हो,” पन्तले भने।

जेनजी आन्दोलन अघि नै राजनीतिक दल गठनको तयारी गरेका पन्तलाई समुदाय सङ्गठित गराउन समय लागेन। उनीसँग सातै प्रदेश हाँक्ने समुदाय तयार भएर आए। कार्तिक २४ गते राष्ट्रिय भेलामार्फत २१ सदस्यीय राजनीतिक दल घोषणा गराए पन्तले।

दलको अध्यक्षमा सर्वसम्मत चयन भइन—महिलाको नागरिकता लिएकी नुमा लिम्बु चञ्चला। नुमा शल्यक्रिया गरेर पुरुषबाट महिलामा रूपान्तरण भएकी, आफूलाई तेस्रोलिंगी भन्न रुचाउने अभियन्ता हुन्। उनी झन्डै दुई दशक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्व गर्दै कोशी प्रदेशको झापामा क्रियाशील रहिन।

अमेरिकी अनुदान बन्द भए पनि अधिकारको आन्दोलनमा उनी सरिक भइन्। “समुदायका लागि प्राप्त अनुदान व्यक्तिको पोल्टामा सीमित नहोस्, समुदायमा समान वितरण होस्, घोटाला नगरौँ,” भन्दै उनले लगातार आवाज उठाउँदै आइन्।

“शल्यक्रिया गरेर महिला बने पनि हामी महिला होइनौँ। हाम्रो पहिचान भिन्न छ—तेस्रोलिंगी। राज्यले ‘अन्य’ पहिचान दिएको छ। हामी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हौँ,” चञ्चलाले आफ्नो परिचय दिँदै आएकी छन्। भ्रष्टाचार अन्त्य, सुशासन कायम—समावेशी समाजवादी पार्टीको पहिलो प्राथमिकतामा छ।

“नेताहरूको भ्रष्टाचारको कति कुरा उठायौँ, खोइ केही भयो त?” उनी प्रश्न गर्छिन्। अन्य क्षेत्रझैँ समुदायबाट समुदाय नै शोषित हुनु परेको वास्तविक पीडा उनी आफैँले बुझेकी छिन्। समुदायका नाममा केही सीमित व्यक्तिले गरिरहेको लुटपाट चञ्चलाले छरपस्ट पारेकी छिन्। तिनै भ्रष्टाचारीको खुट्टा मोलेर मात्रै बाँच्न सकिने अवस्था अन्त्य गर्न चञ्चला स्वयं अग्रसर बनेकी छन्।

समावेशी समाजवादी पार्टी गठन हुनु अघि नै चञ्चलाले एचआइभी परियोजनामा युएसएआइडीको ८ करोड रुपैयाँ घोटालाको हिसाब मागेकी थिइन्। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)का संस्थापक अध्यक्ष पन्तले पाँच वर्षको लेखा परीक्षण र प्रगति विवरण मागेका थिए।

तर, सञ्जीव गुरुङ (पिंकी), सुबेन ढकाल (मनिषा), उमेश पाण्डे (अमीशा), सञ्जय शर्मा र प्रकाश निरौलाले दुवै प्रतिवेदन उपलब्ध गराएनन्। सदस्यता खुला गरेर साधारण सभा गराउने गत साउन १४ गतेको प्रतिबद्धता समेत कुल्चिए।

जिल्ला प्रहरी परिसर काठमाडौँमा पिंकीविरुद्ध नक्कली कम्पनी खडा गरेर हाइड्रोको शेयर घोटाला गरेको उजुरी परेको छ। जेनजी आन्दोलन अघि प्रहरी कार्यालयमा उपस्थित भएर रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएकी पिंकी त्यसपछि गायब भएकी पीडित समुदायले गुनासो गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा जनाएको ३ बुँदे निर्णय कार्यान्वयन नगरी कानुनको धज्जी उडाएको चञ्चला बताउँछिन्।

ब्लु डायमन्डभित्रको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी पुगेको छ। संस्थाभित्रकै राजनीतिमा घुमिरहेकाहरूलाई बाहिर निकाल्न शोषित समुदाय एककठ्ठा भएर लागेको छ।

पारदर्शिता र जबाफदेहिताको माग गरिरहेको समुदायले गठन गरेको राजनीतिक शक्ति—समावेशी समाजवादी पार्टीको उपाध्यक्ष छन्, युएसएआइडीको परियोजना अन्तर्गत झन्डै एक दशक ब्लु डायमन्डमा काम गरेका जेनजी युवा पवन राई (बाबु)। बाबु दुमि राई भ्रष्टाचार अन्त्य नगरी देशमा समृद्धि नआउने बताउँछन्। २३ वर्षका राईले अन्य पहिचानमा नागरिकता लिएका छन्।

स्थायी घर खोटाङ भएका राई नितान्त लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मात्रै दल भनेर बुझ्न नहुने बताउँछन्। राजनीतिक इतिहासमा अहिलेसम्म कोर्न नसकेको, लेख्न नसकेको इतिहासलाई बदल्दै छौँ, मान्छेको सोचलाई परिवर्तन गर्दैछौँ, बाबु दुमि भन्छन्, “यो नै उपयुक्त समय भएको आकलन गरेर महिला, दलित, अपाङ्गता, जनजाति, भूगोलदेखि हरेक विविधतालाई स्वीकारेका छौँ। आजसम्म कुनै पनि राजनीतिले समेट्न नसकेको विविधतालाई हामीले समेटेका छौँ। अरू राजनीतिक दलले नसमेटे पनि हामी सबै वर्ग, समुदायलाई स्वागत गर्दछौँ।”

परिवर्तन हामीबाटै सुरु गर्नुपर्छ भन्ने सोचका साथ समावेशी समाजवादी पार्टी गठन भएको उनी बताउँछन्। “समाज परिवर्तनका लागि भए पनि हामी सबैले हाम्रो सोच परिवर्तन गर्नुपर्छ,” उनी भन्छन्, “लैङ्गिक पहिचानले, लैङ्गिक वस्त्रले, मेरो बोलीको स्वरले होइन, आफूभित्रको क्षमताले पहिचान गर्न सक्नुपर्छ।”

उनले यो आवाज समुदायको मात्र नभएको स्पष्ट पारे। “हामीले समुदायको मात्र आवाज बुलन्द गरेर हुँदैन,” उनले भने, “हामी देश र राज्यप्रतिको जिम्मेवारीमा पनि त्यत्तिकै गम्भीर छौँ भन्ने सन्देश दिन चाहन्छौँ।”

समावेशी समाजवादी पार्टीमा बाबु दुमि राईसहित ३ जना उपाध्यक्ष छन्। शम्शेर दंगाल क्षेत्री र बबिता धिताल तामाङ उपाध्यक्ष हुन्। मिस्टर गे हेण्डसम मनिन्द्र सिंह दनुवार पार्टीका महासचिव छन् भने सन् २००८ को नेशनल एचआइभी एम्बेस्डर, मिस ब्युटी एन्ड ब्रेन २००८ की राष्ट्रिय विजेता सञ्जीवनी लोप्चन (सन्ध्या) पार्टीकी सचिव हुन्।

लोकदोहोरी स्टारमा प्रतिस्पर्धा गरेका मिस्टर गे नेपालका सहभागी—सिन्धुलीका लासाङ दोर्जे बल पार्टीका कोषाध्यक्ष हुन्। पूर्णदृष्टिबिहीन समलिङ्गी महिला प्रतीक्षा चापागाईँ पार्टीकी प्रवक्ता छन्। प्रतीक्षाको तस्बिर राखेर तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले नै शुभकामना दिएको प्रसङ्ग यसै यात्राको अभूतपूर्व मान्यताको इतिहास हो।

मेकअप आर्टिस्ट चन्द्र गुरुङ, ‘क्वयेर नेपाल’ का अध्यक्ष विवेक मगर, कृष्णकुमार तामाङ, भावना क्षेत्री तामाङ, देव गुरुङ (सरगम), सिम्रन तामाङ सबै केन्द्रीय सदस्य हुन्। नेपालका पहिलो मिस्टर गे हेण्डसम तथा ‘इन्क्लुशिभ ग्यालेक्सी रेस्टुरेन्ट’का सञ्चालक विश्वराज अधिकारी, सनरेज पुन, श्यामबहादुर राई (टिना), विष्णुसिंह ठकुरी, जयबहादुर घलान (ज्ञानु) पनि समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्यमा छन्।

पार्टीको केन्द्रीय सदस्यमा नरेश सुनार र ‘मायाको पहिचान नेपाल’ का उपाध्यक्ष मधु केसी पनि छन्। “सागरमा हाम फालेका छौँ, अब त तैरिन जान्नै पर्छ,” केन्द्रीय सदस्य खत्री भन्छन्।

सिङ्गो कार्यसमिति भ्रष्टाचार अन्त्यलाई मूल मुद्दा बनाएर व्यापक प्रचार–प्रसारमा उत्रिएको छ। मानिस र प्रकृति दुवैलाई सम्मान गर्ने मूल्यलाई पार्टीले आफ्नो मूल नीति बनाएको छ।

१७औँ शताब्दीको पश्चिमेली औद्योगिक संरचनाबाट आएको विनाशकारी, पितृसत्तात्मक, प्रकृति–दोहनकारी विकास मोडेललाई अस्वीकार गर्ने नीति पार्टीले लिएको छ।

भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा सङ्घर्ष, दिगो र सम्मानजनक रोजगारीको सिर्जना, नेपालको नाजुक वातावरणको संरक्षण र जलवायु–सहनशीलता, कसैलाई पनि पछाडि नछोड्ने समावेशी राष्ट्र निर्माण,यी मूल आधारमा अघि बढेको समावेशी समाजवादी पार्टीले जनाएको छ।

प्रतिनिधि लोकतन्त्रबाट सहभागी लोकतन्त्रतर्फको यात्रा तय गर्दै, नागरिक स्वयं नीतिनिर्माण र कार्यान्वयन निगरानीमा सक्रिय हुने नीति अवलम्बन गरेको समावेशी समाजवादी पार्टीले जनाएको छ। वातावरण जोगाउने, स्वच्छ रोजगारी सिर्जना गर्ने काममा पार्टीले काम गर्ने बताएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x