सिन्धुली हरिहरपुरगढी गाउँपालिका बेतिथिको नमुना

रातोनेपाल: भाद्र ७,सिन्धुली ।जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा बेतिथी र चरम लापरबाही बढेको पाइएको छ ।
प्राप्त समाचार अनुसार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारले मिति २०८२ भदौ २ गतेको निर्णय अनुसार हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साबिकको गृह मन्त्रालय वा अन्तर्गतको निकायबाट अजम्बर राईलाइ सरुवा गर्यो ।

प्रशासकीय अधिकृतको रुपमा सरुवा भएपछी राई मिति २०८२ भदौ ५ गते हाजिर हुन हरिहरपुरगढी गाउँपालिका आए । तर नयाँ प्रमुख प्रशासकिय अधिकृत हाजिर हुन आउने थाहा पाएपछी अघिल्लै दिन गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबा हाजिरी रजिस्ट्रार बोकेर टाप कसे ।
नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाजिर हुन राई पालिका पुगेपछि पालिका अध्यक्ष नेतृत्वको समूहले हाजिरी गर्न नदिने प्रयास गर्यो । राई कार्यकक्षमा प्रवेश गरिसकेपछि हाजिरी गराउन खोज्दा पुरानो हाजिरी रजिस्ट्रार लुकाइएको थियो । रजिस्ट्रार फेला नपरेपछि उपाध्यक्ष चेखबहादुर थिङ्गको रोहबरमा नयाँ हाजिरी रजिस्ट्रार खडा गरी राई सोही दिन पालिकामा हाजिर भए ।
कार्यालयमा हाजिर भएपछी प्रमुख प्रशासकिय अधिकृत राई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा एक मिटिङ्ग्मा सरिक हुन सिन्धुलीमाढी आए । तर, उनी कार्यालयको बैठकमा आएको बेलाको मौका छोपी उक्त कार्यालयमा निमित्त प्रमुख प्रशासकियको रुपमा काम गरिरहेका दिपेन्द्र कुमार पैकाराले प्रमुख प्रशासकियको रुपमा तेलको कुपन काट्ने, शिक्षा समितीको पत्रमा हस्ताक्षर गर्ने जस्ता कामहरु गरिरहे ।
यो प्रयोजनको लागी भन्दै शङ्खर पहरीद्वारा ५०० लि. डिजेलको माग फारम भरी आएको कुपनमा पैकराले हस्ताक्षर गर्न मात्रै भ्याएनन् शिक्षा समितीको एक महत्वपुर्ण निर्णयको पत्रमा समेत सोही दिन हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत राई प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको बैठकमा गएको मौका छोपी हस्ताक्षर गर्न भ्याए ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८४ (४) मा भएको ब्यबस्था बमोजिम मन्त्रालयबाट स्थानिय तहहरुमा प्रमुख प्रशासकिय अधिकृतहरु खटाइने गरिएको छ । तर कतिपय स्थानिय तहहरुले मन्त्रालयबाट खटीइ आएका अधिकृतहरुलाई हाजिर नगराइ फर्काउने गरेको पाइएको छ । यस हरिहरपुरगढी गाउँपालिकामा बिगत एक बर्षबढी समयदेखी सातौ तहका कर्मचारी पैकरा निमित्त प्रमुख प्रशसकियको रुपमा कार्यरत छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको रुपमा महानगर र उपमहानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतलाई पठाउँदै आएको छ । तर मन्त्रालयले निर्णय गरि पठाएका योग्यता पुगेका शाखा अधिकृतले समेत तोकिएको पालिकामा हाजिर हुन पाएका छैनन् ।
यति मात्रै होइन यस हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्ता गर्ने कार्यमा पनि अध्यक्ष पक्षले अवरोध गरेको स्रोतले बतायो । प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्ता गर्ने क्रममा अध्यक्ष वाइबाले थुतेर दर्ता नगराउने उद्देश्यले आफुसङ्ग राखेको र अन्य विकल्प नलागेपछि दर्ता चलानीमा काम गर्ने कर्मचारीहरु समेतलाई भगाइएको थियो ।
दर्ता गर्ने कर्मचारीहरू समेत भागेपछि कम्प्युटरको पासवर्ड पत्ता लगाएर प्रमुख प्रशासकीय अधिकृतको रमाना पत्र र सरुवा पत्र दर्ता गरिएको हो । हाजिरी र दर्ता भएको आधारमा अध्यक्ष समूहले धम्कीसमेत दिइरहेको स्रोतले जनाएको छ ।
यसअघि अघिल्लो महिनामा समेत मन्त्रालयले खटाएकी प्रमुख प्रशासकीय अधिकृत दिपशीखा आलेलाई पनि लबिङमार्फत पालिकामा प्रवेश गर्न रोकेर अन्त सरुवा गरिएको थियो । हाल गाउँपालिकामा अध्यक्ष समूहकै प्रभावमा स्वास्थ्य शाखाका कर्मचारी दिपेन्द्र कुमार पैकारालाई निमित्त प्रमुख बनाएर पालिकामा कामकाज गराइँदै आइएको छ । पैकाराले अध्यक्ष समूहको निर्देशन अनुसार हिसाब मिलान गर्ने भएकाले नै नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिइएको स्रोतको भनाइ छ । यसरी गाउँपालिका भित्र बेतिथी,मनपरि ,लापरबाही बढ्नु दु:खद रहेको स्थानीयहरु बताउदै आक्रोशित बनिरहेका छन् ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE