मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जादैन : थापा

  • 4.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    4.4K
    Shares

काठमाडौँ , नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जान नहुने धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) ले आज यहाँ आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन, २०८१’ को उद्घाटन गर्दै उनले कांग्रेस प्रतिपक्षमै बसेर सरकार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले यही असारभित्र  महासमिति बैठक बसेर पार्टीलाई अगाडि बढाउनेबारे  बृहत् छलफल गरिने बताए । उनले निर्वाचनमा पार्टीको उम्मेदवार चयन गर्ने प्रक्रिया परिवर्तन गर्न जरुरी रहेको उल्लेख गरे । “निर्वाचनका लागि उम्मेदवार छान्न पार्टीभित्रका क्रियाशील सदस्यले भोट गर्ने व्यवस्था बनाउनुपर्छ”, उनले भने । उनले पार्टीभित्र प्रेमपूर्ण सम्बन्ध भएका कारण विसं २०४८ सालमा कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको स्मरण गरे । पार्टीभित्र गुट, उपगुटको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ थियो ।
महामन्त्री थापाले केन्द्रमा कांग्रेसको सरकार नभए पनि तीन सय ३२ स्थानीय तहमा कांग्रेसको सरकार भएकाले जनताका लागि काम गर्न आग्रह गरे । “कांग्रेस केन्द्रमा प्रतिपक्षमा छ, हामी प्रतिपक्षमै बस्नुपर्छ, सरकारलाई ठिक ठाउँमा उभ्याउने काम कांग्रेसको हो”, थापाले भने ।

उनले आगामी निर्वाचनअघि संविधानमा भएका केही कुराहरू संशोधन गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । “प्रदेशहरू अदालतबाट चल्दै आएको अवस्था छ, प्रदेश र केन्द्रका मन्त्रीहरू घटाउनुपर्छ, संविधानमा संशोधन गरेर अगाडि बढ्नुपर्छ”, महामन्त्री थापाले बताए । उनले नेता तथा कार्यकर्तालाई नागरिकसँग जोड्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरे ।

नेता पौडेलले जनताका विषयलाई एजेन्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । “एजेन्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ”, नेता पौडेलले भने । क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । नेता पौडेलले कलङ्की- चाबहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसलाई राम्रो, गतिशील र नेतृत्व प्रदान गर्ने शक्तिका रुपमा अगाडि बढाउनुपर्ने बताइन् । “लोकतन्त्रलाई ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसलाई काठमाडौँबासीले बलियो भएको हेर्न चाहन्छ, यसलाई तपाईँ हामी मिलेर पूरा गर्नुपर्छ”, उनले भनिन् ।

कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नेताले आफ्नो क्षेत्र सुरक्षित गर्न काठमाडौँलाई प्रयोगशाला बनाएको बताए । “नेताले आफूले चुनाव जित्नका लागि राम्रो सङ्गठन भएको काठमाडौँमा गठबन्धन गर्दा यहाँको सङ्गठन कमजोर भयो”, उनले भने ,कांग्रेस काठमाडौँका पूर्व सभापति भीमसेनदास प्रधानले पार्टीको विधानलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्ने बताए । उनले पार्टीभित्र एउटै व्यक्तिले पटक(पटक अवसर पाउने प्रवृत्तिको अन्त्य गरिनुपर्नेमा जोड दिए । “सहकारी अनियमितताको विषयलाई ओझेलमा पार्ने छानबिन समिति चयन गरिएको छ”, उनले भने ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का सभापति ख्यामराज तिवारीले सुशासनलाई कांग्रेसले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा काठमाडौँ  क्षेत्र नं ६ का पूर्वक्षेत्रीय सभापति न्हुच्छेनारायण मानन्धर, काठमाडौँ महानगरपालिका- २६ का पूर्व अध्यक्ष विश्वम्भर लाल प्रधानलगायत  पार्टीमा विशिष्ट योगदान दिने डेढ दर्जन व्यक्तिलाई सम्मान गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x