शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

कर्मचारीलाई देश र जनताको हितमा काम गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन

  • 160
  •  
  •  
  •  
  •  
  •  
  •  
    160
    Shares

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आमनागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरे । उनले पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिए ।

ऊर्जा मन्त्रीले प्रसारण लाइन निर्माणमा देखिएको बेथिति सुधार गर्ने स्पष्ट कार्ययोजना पेस गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । उनले पथलैया–वीरगञ्ज र ढल्केबर–इनरुवा खण्डको प्रसारण लाइन निर्माणका समस्या हिउँदअगावै समाधान गर्नुपर्ने बताए ।

मन्त्री बस्नेतले देशका अन्य स्थानमा पनि प्रसारण लाइनको क्षमता वृद्धि गर्न, सवस्टेशनको नियमित मर्मतसम्भार गर्न निर्देशन दिए । सिँचाइसँग सम्बन्धित समस्या समाधानका लागि सार्थक प्रयास तत्काल थाल्न निर्देशन दिँदै उनले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने गुरुत्तर दायित्वबाट विमुख नहुन सबैलाई आग्रह गरे ।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल, सहसचिवद्वय नवीनराज सिंह, सन्दीपकुमार देव, सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको सहभागिता थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x