देश हाँसेको हेर्ने रहर : रोमा लम्साल “नुरा”

हाँगाका पाखुरामा मुस्कुराएका गुराँसहरु
जस्तै
काँडाका ओठमा मुस्कुराएका गुलाबहरु
जस्तै
तिहारमा दाजुभाईलाई पर्खिरहेका मखमली
जस्तै शिर ठाडो पारेर सगौरव उभिएका हिमालहरु जस्तै
मलाई देश हाँसेको हेर्ने ठूलो रहर छ
पहाडका हरिया खर्कहरु जस्तै
खेतभरि लह- लह धानका बालाहरु जस्तै
खुशीले उफ्रदै बगिरहने नदी जस्तै
सयौं थरी फूलले सुशोभित बगैंचा जस्तै
मलाई देश हाँसेको हेर्ने ठूलो रहर छ
बरु म अभावमा रहुँला
कतै पाखुरा बजारुँला
म गरीबीमा बाँचुँला
कतै पसिना बगाउँला
बरु मेरा जहान बच्चाहरु भोकभोकै रहून्
सिस्नो र खोले खुवाएर छाक टारुँला
मेरो घरको छानो उध्रियोस्
वनका स्याउलाले ढाकेर काम चलाउँला
तर-तर मेरो देश नाङ्गो भएको हेर्न सक्दिन
मेरो देशको नक्शा उध्रिएको म हेर्न सक्दिन
मेरो भाषा छ, मसँग आवाज छ
मेरो संस्कृति छ र मेरो पहिचान छ
मेरो पहिचान छ र मेरो देश छ
मेरो देश छ अनि मेरो अस्तित्व छ
देश भनेकै मेरी आमा हुन्
आमा हाँसे पो देश हाँस्छ
मलाई देश हाँसेको हेर्ने ठूलो रहर छ ।
रोमा लम्साल “नुरा”
हाल काठमाडौं
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE