बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

भूमिका र विमोचन : एक विमर्श रामकृष्ण ढकाल

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

समय गतिशील छ। यसको अनवरत गतिसँगै धर्तीमा अनेकखाले कामकारबाहीहरू, गतिविधिहरू चलिरहन्छन्—चाहे ती प्राकृतिक हुन् वा मानवीय।
लेखन तथा पठनपाठन पनि एक गतिविधि हो, जुन मानव जगतलाई सभ्यताको सिँढी आरोहण गराउने एक महत्त्वपूर्ण पक्ष हो। कुनै बेला वनपाखामा घुमिफिरी हिँड्ने मानवले गिरिका गुफामा काठ वा ढुङ्गाको टुक्राको सहायताले जस्तो सक्यो त्यस्तै चित्र बनाउँदै सुरु गरेको भनिएको लेखनकलाको बान्की समयको गतिशीलतासँगै परिवर्तन हुँदै आजको सुसाङ्ख्यको युगमा आइपुगेको छ।
अहिलेका हामीमध्ये कतिपयले र हामीभन्दा अघिका कैयौँ पुस्ताले धुले पाटीमा छेस्काले लेखेर, फलेकको चौकी वा पिर्कामा अँगारले लेखेर, निगालोको कलमले लेखेर आदि–इत्यादि चरणहरू पार गर्दै आजको युगसम्म आइपुगेका हौँ—लेखन तथा पठनपाठनमा।
अझ त्योभन्दा पहिले हाम्रा अनेक शास्त्रहरू कसरी लेखिए होलान्? कसरी युगौँसम्म सुरक्षित राख्दै हामीसम्म ल्याइपुर्‍याइए होलान्? आजको ‘मै हुँ’ भन्ने हजारौँ विद्वानहरूमध्ये कसले यसको बारेमा समय खर्चिएको छ? कसले अध्ययन गरेको छ? आफ्नो विद्वताको जग कति पुरानो र कति बलशाली वा कमजोर छ भनेर कसले घोत्लिएको छ?
आज संसारमा एकै घण्टामा हजारौँ पुस्तक निस्कन्छन् वा प्रकाशित हुन्छन्। हाम्रै देशमा पनि एकै दिनमा दर्जनौँ पुस्तकहरू साहित्यका निधि बन्न आइरहेका छन्। यस्ता पुस्तकहरूमध्ये करिब शतप्रतिशत पुस्तकहरूको सुरुका पानाहरूमा भूमिका, मन्तव्य, लेखकीय, प्रकाशकीय, भन्न खोजेका कुराहरू, मूल पाठभन्दा पहिले आदि शीर्षकमा लामा–छोटा लेखहरू छापिएका हुन्छन्।
कुनै बेला यहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जीवित थिए—बालकृष्ण सम, लेखनाथ पौडेल, भानुभक्त आचार्य, सूर्यविक्रम ज्ञवाली, भैरव अर्याल, धरणीधर शर्मा, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशीजस्ता हस्तीहरू जीवित थिए। समाजमा तिनको उच्च सम्मान थियो। उनीहरूको बोली–लेखाइ निकै महत्त्वपूर्ण मानिन्थ्यो।
आज आएर लेख्ने–पढ्ने जस्तो चुत्थो कर्म अरू कुनै छैन जस्तो भएको छ। यतिखेरका मूर्धन्य विद्वानहरू कुन कुनामा, कुन नियतिको निचोराइमा परेर कस्तो अरण्यरोदन गरिरहेका छन् भन्ने कसलाई के कति पत्तो छ र? ‘कौडीमा पनि मिल्दछ भिल्लका देशमा मणि’ भनेझैँ झन्डै सिङ्गै समाज भिल्लमय भएको छ।
उच्चलाई तुच्छ र म्लेच्छलाई उच्च मान्दछ र यसैमा आफैँलाई पौरखी सम्झेर सेपिलो कान्लामुनि खै के फुल्लिएको जस्तो नाक बनाउँदै धाक देखाउँछ।
अहिले विज्ञान संयन्त्रहरूको साम्राज्यमा लेख्न–पढ्न ध्यान दिने यो कार्यलाई राम्रो मान्ने, प्रोत्साहन दिने कति व्यक्ति र कति संस्था छन्? देशमा केही छैन भन्दै विदेश जानेको लर्को र हाम्रा शैक्षिक संस्थाहरूमा पढ्नेहरू र पढाउनेहरूको सङ्ख्या हेरौँ। अनि आफ्नो कामबाट अलिकति फुर्सद पायो कि हाते संयन्त्र (मोबाइल) मा झुम्मिएर अनेक नखराका छोटा तस्बिरहरूमा रमाउने र कामलाग्ने कुरा खोजेर जानेर आफूले पालन गर्ने र अरूलाई शुभ सन्देश दिने मान्छे कति छन्?
अर्को कुरो—कसैले वर्षौँको अनुभव, मेहनत लगाएर खर्च गरेर प्रकाशन गरेको पुस्तक किनेर वा नकिनीकनै पनि भेटेपछि पढ्ने मान्छे कति छन्? फेरि पढेपछि आफ्नो मनमा लागेको प्रतिक्रिया दिने कति छन्? के यी सबै कुराबाट हामी अनभिज्ञ छौँ त? अवश्यै छैनौँ होला।
अब जाऊँ यो विमर्शको शीर्षकतिर।
यति कुरा बुझ्दाबुझ्दै किन व्यर्थमा फलानोको किताबमा भूमिका लेख्न पाए, फलानोबाट भूमिका लेखाउन पाए, एक जना मात्र होइन दुई–तीन जनाको मन्तव्य मेरो किताबमा राख्न पाए भनेर किन मरिहत्ते गर्ने? के यतिखेर महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल, आदिकवि भानुभक्त आचार्य नै जीवित भएका भए र तिनका हातबाट भूमिका लेख्न लगाइ कुनै पुस्तक तयार भयो भने तिनले भूमिका लेखेको किताब त के केन हुन्छ भनेर कसले पढ्थ्यो होला?
बुद्धका ज्ञान कसले भूमिका लेखिदिएकाले विश्वभरि फैलिएको हो? भानुभक्तको रामायण कसको भूमिकाले चलेको हो? देवकोटाको मुनामदन कसको भूमिकाको कारण सुप्रसिद्ध भएको हो? त्यसैले हामी सकौँला वा नसकौँला त्यो अलग पाटो हो, तर पुस्तकको मूल कुरो भनेको त्यसमा लेखिएको भूमिका होइन—त्यो किताबको गहनता हो, त्यसको विषयवस्तुको गाम्भीर्य हो।
साहित्यकार कृष्ण धरावासीको लोकप्रिय झोला कथा सङ्ग्रह, प्रसिद्ध टुँडाल उपन्यास, राधा उपन्यासको प्रसिद्धि हेरौँ। महाकवि देवकोटाकै लूनी काव्य, म्हेन्दो काव्य, लक्ष्मी गीतिसङ्ग्रह र मुनामदन कै प्रसिद्धि वा लोकप्रियता हेरौँ।
त्यसैले के कुरो घामजत्तिकै छर्लङ्ग छ भने पुस्तक रचना गर्दा, प्रकाशन गर्दा अहिलेको समयमा भूमिका नभए पनि फरक पर्दैन। कुनै बेला भूमिकाको महत्त्व थियो—त्यो कुरोलाई भने मान्नुपर्छ। तर अहिले पुस्तकमा लेखिने भूमिका अहिलेकै रेडियो र भुइँफोन भएका छन्।
अबको पालो विमोचनको।
विमोचन वा मुक्ति आजको समयमा कति सान्दर्भिक छ त? के आजभन्दा ५० वर्ष अघिकै शैलीमा विमोचन गर्नु आवश्यक छ त? समयको गतिशीलता त्यही ५० वर्ष अघिकै अवस्थामा छ त?
विमोचन कार्यक्रम एक प्रकारको विज्ञापन हो। फलानोले लेखेको यो वा त्यो नामको पुस्तक निस्क्यो, यसमा यस्तो–त्यस्तो विशेषता छ भन्दैमा आजको मोबाइल पुस्ताले हारा–लुछा गरेर किन्छन् कि किन्दैनन्? विमोचन नामको विज्ञापनमा गरिएको खर्च मात्र पनि पुस्तक बिक्रीबाट उठाउन त्यो विमोचन कार्यक्रम सफल भयो कि भएन? हामी आफ्नै भोगाइमा त्यो सम्भव भएको देखिएको छ त?
यदि उपलब्धि हुँदैन भने त्यस्तो कार्यमा विद्वत् वर्ग नै मरिहत्ते गरेर किन लाग्ने? यो लामो गन्थनमा भन्न खोजिएको कुरो यही हो। बरु यदाकदा कोही तथाकथित र्‍याले विद्वानहरूले भूमिका लेख्ने नाममा, विमोचन गर्ने–गराउने नाममा चियाको तुर्कोदेखि सुराको सुर्कोसम्मको जोहो गर्ने निकृष्ट प्रयास गरेको आभास भएको छ, जुन अत्यन्तै निम्न बौद्धिक र घुस्याहा प्रवृत्तिको एक नमुना हो।
कोही सर्जकले “ल, हजुर, मैले यस्तो कनिकुथी गरें, यो हेरेर नमिलेको भए मिलाउँदै यस्सो भूमिका लेख्ने दुःख पनि गरिदिनुपर्‍यो। म त्यस दुःखको लागि केही सान्त्वना टक्र्याउँछु” भन्दै आयो भने त्यसको आशा पूरा गराई आफूले पनि केही लिनु उपयुक्त हुन्छ। तर आफैँ मपाइँ हुँदै अनेक तरिका लगाएर “तेरो किताबमा म भूमिका लेखिदिन्छु, यति ले” भन्ने, वा “तैंले हाम्रो संस्थाकै नाम राखेर किताब छपाउनुपर्छ” भन्ने, “हाम्रै संस्थाको ब्यानरमा तैंले विमोचन गराउनुपर्छ” भन्ने र यस्ता हर्कतसँगै जोडिन आउने अन्य कुनै पनि कार्य–व्यवहार आजको समयमा कत्तिपनि उपयुक्त छैन।
कोही कसैको हातबाट विमोचन गरेको भन्दैमा कुनै पुस्तक चल्ने समय छैन। त्यसैले यस्ता कर्म गर्दा लेखक, प्रकाशक लगायत सम्बन्धित सबैले अलि बेस्सरी सोच–विचार गरेर मात्र गरौँ।
र अर्को कुरा—समयको गतिशीलतासँगै कार्यको प्रकृति पनि बदलिएका छन्। विद्युतीय चुल्हो वा ग्यास चुल्होमा खाना पकाउँदा पकाइने भाँडोको पछाडि खरानी लगाउनु पर्दैन। दाउराकै आगो बालेर पकाउँदा मात्र हो—खरानी लगाउनुपर्ने।
समयको गतिशीलताको वर्तमान अवस्थामा सन्देश के हो भन्ने बुझेर मात्र गरौँ। पृथ्वीनारायण शाहले पैदल हिँडेरै यत्रो नेपाल बनाए भने हामी किन गाडी चढ्ने? टाढा जानै परे पैदलै हिँडौँ भन्ने पारा नदेखाऔँ।
धन्यवाद।
रामकृष्ण ढकाल
२०८२ माघ १४
चितवन

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x