‘बक्सियोस्’ भाषा गणतन्त्रमा किन ‘पपुलर’?

राजा होस् वा राष्ट्रपति, सामन्त होस् वा कम्युनिस्ट,
जुनसुकै प्रणालीमा पनि जब कोही आफूलाई माथि र अरूलाई तल ठान्छ, त्यहाँ यही भाषा बोलिन्छ।
१. ‘बक्सियोस्’ कसरी बन्यो?
“बक्स” शब्दको मूल अर्थ अनुग्रह (granting a favour) हो। नेपाली दरबारिया संरचनामा राजा–रानीले गर्ने हरेक क्रियाकलाप प्रजाका लागि कृपा मानिन्थ्यो। राजा आइदिनु, खाइदिनु, बसिदिनु, सुतिदिनु—सबै अनुग्रह।
त्यसैले,
“आइ बक्स होस्”,
“खाइ बक्स होस्”,
“शयन गरि बक्स होस्”
जस्ता वाक्य संरचनाहरू बने।
समयक्रममा छिटो बोल्दा, अपभ्रंश हुँदै यी शब्दहरू
आइसियोस्, गइसियोस्, खाइसियोस्, बसिसियोस्
बन्दै गए।
यो भाषामा प्रयोग हुने “होस” (आज्ञा/अनुरोध सूचक) र “बक्स” (अनुग्रह) जोडिँदा बन्ने “बक्सियोस्” ले एउटा सन्देश दिन्छ — शासकको सामान्य मानवीय क्रियाकलाप पनि जनताका लागि कृपा हुने भए।
२. राज संस्था गयो, तर ‘शक्ति-संरचना’ उही रह्यो
राजसंस्था हट्यो। तर शक्ति कहाँ गयो?
शक्ति गएको होइन, शक्ति स्थानान्तरण भयो।
जहाँ शक्ति रहन्छ, त्यहाँ पदानुक्रम रहन्छ।
जहाँ पदानुक्रम रहन्छ, त्यहाँ ‘बक्सियोस्’ जस्तो भाषा बोल्नु अपरिहार्य बन्छ।
त्यसैले आज “कमरेड” भनिने नेताको घरमा पनि “बसिसियोस्”, “खाइसियोस्”, “आइसियोस्” सहज रूपमा प्रयोग भएको छ।
यो कुनै वैचारिक विरोधाभास होइन।
यो सत्ता–मनोविज्ञानको स्वाभाविक परिणाम हो।
३. शक्ति र सर्वशक्तिमान् हुने भ्रम
सत्ता हात परेपछि, राजा होस् वा गणतन्त्रवादी नेता— धेरैले आफूलाई सबैथोक दिन सक्ने हैसियतमा देख्न थाल्छन्।
जब यस्तो सोच पलाउँछ, वरिपरिका नागरिक बराबरीका व्यक्ति होइन, अनुग्रह पर्खिरहेका पात्र देखिन थाल्छन्।
त्यहीँबाट सामान्य भाषा छाडिन्छ, शक्तिको ‘बक्सियोस् भाषा’ जोडिन्छ।
त्यहीँबाट “आउनुस्” होइन, “आइसियोस्” हुन्छ।
“बस्नुस्” होइन, “बसिसियोस्” हुन्छ।
यो भाषा सम्मानको होइन, यो त शक्ति प्रयोगको उपकरण हो।
४. ‘उच्च’ देखिने चाहना
“बक्सियोस्” आज केवल सत्ता केन्द्रमा मात्र छैन।
यो सामाजिक आकाङ्क्षाको भाषा पनि बनेको छ।
यसलाई आफूले प्रयोग गर्दा होस् वा आफूमाथि प्रयोग हुँदा होस्, मानिस आफूलाई विशिष्ट, माथिल्लो र अलग पाउँछ।
सामान्य नागरिक भाषा भन्दा उपल्लो पदानुक्रम झल्किने भाषा अझ “सभ्य” ठानिन्छ।
यस अर्थमा, यो भाषाद्वारा समाजले नै सत्ता र जनताको दूरीलाई अपरिहार्य बनाएको सङ्केत गर्छ।
राजतन्त्र काल देखि आएको भए पनि यो भाषा राजतन्त्रको होइन, संरचनाको हो, त्यसैले “बक्सियोस्” लाई राजतन्त्रको अवशेष भनेर मात्र बुझ्नु अधुरो विश्लेषण हुन्छ।
यो भाषा त्यहाँ चलन हुन्छ जहाँ: शक्ति केन्द्रीकृत हुन्छ, निर्णय माथिबाट तल आउँछ, मानिस बराबरी होइन, हैसियतका आधारमा हेरिन्छ।
त्यस्तो संरचना राजतन्त्रमा पनि हुन्छ, गणतन्त्रमा पनि हुन सक्छ।
नाम बदलिन सक्छ, पद बदलिन सक्छ, तर यदि शक्तिले आफूलाई सर्वशक्तिमान् ठान्छ भने भाषा उही रहन्छ।
५. भाषा हाम्रो ‘शक्ति–कल्पना’को ऐना हो
“बक्सियोस्” शब्दले देखाउने कुरा गम्भीर छ— हामी “शक्ति र नागरिक”लाई कसरी कल्पना गर्छौँ?
यदि शक्ति आफूमा केन्द्रित छ, र जनता त्यसको कृपामा बाँच्ने पात्र हुन् भन्ने सोच छ भने, भाषा “बक्सियोस्” नै हुन्छ— चाहे त्यो राज-दरबार होस्, वा गण-दरबार।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE