शुक्रबार, भदौ २८, २०८१
Friday, September 13, 2024

भरतपुर महानगरको ठेक्का विरुद्ध अदालतमा मुद्दा 

  • 23.8K
  • 80
  •  
  • 64
  •  
  •  
  •  
    23.9K
    Shares

“रंगशाला निर्माणको टेण्डरमा अनियमितता, अख्तियारमा पर्यो उजुरी”

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको टेन्डर प्रतिस्पर्धामा जानै नदिई केही व्यक्तिहरुको चलखेलमा ठूलो कमिसन असुल्न लागेका छन् । भरतपुर महानगरपालिकाका बरिष्ठ इन्जिनियर सन्तोष आचार्यले आफूनिकट ठेकेदारलाई मात्रै टेन्डर भर्न लगाएर प्रतिस्पर्धामा अवरोध गरेका छ्न ।

धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड ऋण लागेको भन्दै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम छाडेको थियो । अलपत्र परेको  रंगशालालाई २०८० पुस २५ गते नेपाल सरकारले बागमति प्रदेश सरकारको साझेदारीमा बनाउने बाटो खुलाइदिएको थियो । सरकारले सहमति दिएसँगै भरतपुर महानगरपालिकाले १७ फागुनमा निर्माणको लागि टेन्डर आह्वान गर्यो ।

“भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन रंगशाला निर्माणको टेण्डर प्रक्रियामा करोडौं रुपैयाँ चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालमा उजुरी परेको छ ।”

टेन्डर परेका ठेकेदारबाट इन्जिनियर आचार्यले करोडौं रुपैयाँ कमिसन लिएर सेटिङ मिलाएको आरोप छ । बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकाले बनाउन लागेको रंगशालाको टेन्डर आचार्यले दुषित मनासय राखेर एकलौटी गरेपछि यसको चौतर्फी विरोध भएको छ ।

महानगरपालिकाको टेन्डर आह्वानमा आरसीसी फर्म स्ट्रक्चरमा निर्माण गर्ने भनिएको थियो । तर, समयअवधी बाँकी रहँदै रंगशालाको सर्त फेरबदल गर्दै  टेन्डर आह्वानको अन्तिम दिनमा एउटा कम्पनीले मात्र फारम भरेको पाइएको छ । जसले गर्दा अरु कम्पनीका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न पाएनन् ।

यसरी आफूनिकट ठेकेदारलाई ठेक्का मिलाइदिएबापत इन्जिनियर आचार्यले करोडौं रुपैयाँ कमिसन लिन लागेको व्यवसायीहरू बताउँछन् । उक्त कम्पनीसँग योजना सम्झौता गरेपछि कमिसन बुझाउने सर्तमा मुना एण्ड आचार्य कम्पनीका प्रोपाइटर अनुप आचार्यले फाराम दर्ता गराएको स्रोत बताउँछ ।

योजनाको केही प्रतिशत रकम बुझाउने सर्तमा फाराम दर्ता गराएर काम दिलाउने काम भएको छ, एक निर्माण व्यवसायी भन्छन्, महानगरपालिकाका केही कर्मचारीको दुषित मनासयका कारण एकलौटी ढंगबाट टेन्डर दिनु सरासर गलत हो । अब सम्बन्धित निकायमा जान्छौं ।

सेटिङमा काम भएको दावी गर्दै ती व्यवसायी भन्छन्, टेन्डर दिइएको मुना एण्ड आचार्य निर्माण सेवाको अनुभव पोखरास्थित फुटबल रंगशालाको निर्माण कार्यमा आरसीसी फ्रेम स्टक्चरको काम गरेको पत्रमा देखिँदैन । यसकारणले पनि ठेक्का १२ औं सार्वजनिक खरिद ऐनको विरुद्धमा गरको देखिन्छ ।

जसले गर्दा मुना एन्ड आचार्य निर्माण सेवा र महानगरपालिकाको मिलेमतोमा बोलपत्र आह्वान भएको पुष्टि भएको छ । यसलाई जसरी पनि कानुनी प्रक्रियामा लैजाने ती निर्माण व्यवसायी बताउँछन् ।

महानगरपालिकाका केही कर्मचारीहरुले दुषित मनासय राखेर टेण्डर प्रक्रियामा व्यापक अनियमितता गरेको दाबीसहित एम ब्रदर्स कस्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.ले छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएको हो ।

एम ब्रदर्सले दिएको सो उजुरी आयोगमा सी–०६३७७८ नम्बरमा दर्ता भएको छ । उजुरी २०८० साल चैत ३० गते आयोगमा दर्ता भएको अख्तियारका एक आयुक्तले जानकारी दिए ।

कुनैपनि निर्माण कम्पनीलाई सहभागी गराएर प्रतिष्पर्धा नगराई एक कम्पनीलाई ठेक्का दिएर राज्यलाई ठूलो धनराशी नोक्सानी भएको भन्दै छानबिन गरी संलग्न माथि काराबाही गर्न माग गर्दै उजुरी परेको अख्तियार स्रोतले बताएको छ ।

गत २२ चैतमा रंगशाला निर्माणको टेन्डरमा एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले मात्र ठेक्का हालेको महानगरका निर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । ३० दिनको म्याद राखेर गत फागुन १७ गते १ अर्ब १० करोडको ठेक्का आह्वान गरिएको थियो ।

अख्तियारमा उजुरी परेसँगै निर्माण व्यवसायी संघ, चितवनले समेत महानगर प्रमुख रेनु दाहालको ध्यानकर्षण गराएको छ । जसमा अनुभव प्रमाणपत्र सच्याई म्याद थप गर्नुपर्ने बताउँदै संघले महानगरपालिकाकै पारदर्शितामा आँच आउने गरी टेन्डर खोल्ने कार्य रोक्न आह्वान गरेको छ ।

संघका अध्यक्ष केशव प्रसाद लामिछानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिकाको गौरवको आोजना धुर्मुस–सुन्तली रंगशालाको निर्माण कार्यलाई मागिएको आवश्यक योग्यतामा संकुचित बनाई नेपालभरीमा एकमात्र मुना एण्ड आचार्य मात्रले बिल्ड्रि गर्न पाउने गरी टेन्डर निकालिएकोले आर्थिक हानी हुनेगरी प्रतिस्पर्धी नबनाउँदा भरतपुर महानगरपालिकाकै र धुर्मुस–सुन्तली फाउण्डेसनको पारदर्शितामा आँच आउने गरी टेन्डर हुने कार्य रोकी केही कार्यलाई खुकुलो पारी अगाडि बढाइदिन अनुरोध छ ।’

ठेक्का पाउने निर्माण कम्पनीका प्रोपाइटर अनुप आचार्य हुन् । प्रोपाइटर आचार्यले महानगरपालिकाका केही कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेको आरोप छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x