मङ्लबार, चैत्र ४, २०८१
Tuesday, March 18, 2025

पचास हजार नगद सहित सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरुस्कार सुप्रीम मल्ल ठकुरीलाई

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बालकलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने निर्णय भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण गरिने श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठको अनुसार सुप्रिमलाई पचास हजार रुपियाँ नगद राशी सहित सम्मान पत्रद्धारा सम्मान गरिनेछ । पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्य समितिले अनुमोदन गरेको साहित्यकार तथा पुरस्कार छनौट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताइन् ।

योपटक पहिलोचोटि सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्न लागिए उनले बताईन् । अर्को वर्षबाट भने संस्थागत रुपमा देशभरका सम्बन्धित निकायहरुमा पत्राचार गर्ने, प्रतिभा सिफारिसको आव्हान गर्ने र आवश्यकता अनुसारको विज्ञापन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमा बताइयो । बाजुराको हिमाली गाउँपालिका वडा ६ मा जन्मिएका सुप्रिम भ्वाइस अफ किड्स नेपालको पहिलो सिजनका फस्ट रनरअप हुन् ।

हाल काठमाडौंस्थित महर्षि स्कुलमा कक्षा ६ मा अध्ययनरत सुप्रिमले हालसम्म १९० वटा गीतहरु रेकर्ड गरिसकेका छन । उनको स्वरमा लोकगीत, लोक दोहोरी गीत, चलचित्र गीत, आधुनिक गीत, देशभक्त गीत, बाल गीत लगायत देउडा, ठाडोभाका, गजल, सालैजो, पूर्वेली भाका, लिम्बु, किराँती, मधेसी, नेवारी भाकाका गीतहरु रेकर्ड भइसकेका छन् ।देश तथा विदेशका करीब २१० भन्दा बढी मेला, महोत्सव, कन्सर्ट लगायत ५०० भन्दा बढी लाइभ लोकदोहोरी कार्यक्रमहरुमा उनले सहभागिता जनाइसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट रारा राष्ट्रिय म्युजिक अवार्ड, बालकल्याण परिषदबाट उत्कृष्ट बालप्रतिभा अवार्ड-२०७९, क्वीन्स बाल स्वर सम्राट अवार्ड, प्रधानमन्त्री शेरबहादर देउवाबाट क्यासनेप उत्कृष्ट बालप्रतिभा अवार्ड, निम्स अवार्ड, ओएसआर अवार्ड, लोकदोहोरी अवार्ड लगायत विभिन्न अवार्ड तथा पुरस्कारहरुबाट यस अघि नै उनी सम्मानीत भइसकेका छन् ।नेपाली साहित्य लेखनका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले आफ्ना पिता स्व.गणेशबहादुर श्रेष्ठ र माता स्व. लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा एघार लाख पचास हजारको अक्षय कोष स्थापना गरी सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार प्रदान गर्न लागेका हुन् ।

सरु भक्त केन्द्रले १६ वर्ष मुनिका नेपाली बालबालिकाहरु जसले आफ्नो प्रतिभा देखाई मुलुकको इज्जत, प्रतिष्ठा र गरिमा कायम गर्न सफल भएका छन् त्यस्ता प्रतिभालाई हरेक वर्ष पचास हजार रुपियाँ नगद राशी सहित सम्मान पत्रद्धारा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्दै आएको छ ।

यो पुरस्कार मूलतः साहित्य, कला, संगीत, खेलकूद, पर्वतारोहण, विज्ञान तथा प्रविधि, नृत्य, मौलिक आविष्कार लगायतका क्षेत्रमा विशिष्ट प्रतिभा देखाउन सफल १६ वर्ष नकटेका बालबालिकाहरुलाई सम्मान र प्रोत्साहन स्वरुप प्रदान गरिने लक्ष्य रहेको केन्द्रले बतायो ।२०५६ सालमा स्थापित राष्ट्रिय बालप्रतिभा पुरस्कारको अक्षयकोष १ लाख रहेकोमा हाल दश लाख पचास हजार थपेर ११ लाख पचास हजार बनाइएको हो । २०५७ सालदेखि २०६९ सालसम्म यो पुरस्कार निरन्तर प्रदान गरिदैँ आएको थियो ।

यसअघि राष्ट्रिय बालप्रतिभा पुरस्कार २०५७ बाट पर्वतारोहण क्षेत्रकी तेम्बाछिरी शेर्पाले पाएका थिए । उनी १६ वर्ष मुनिका पुरुषतर्फ विश्वकै प्रथम किर्तिमानी सगरमाथा आरोही हुन् ।

यस्तै २०५८ मा नृत्य क्षेत्रकी ज्योती थापा, २०६० मा गायनक्षेत्रकी ऋतु लामा, २०६१ मा कलाक्षेत्रकी शिखा कटुवाल, २०६२ मा कलाक्षेत्रकी करुणा गुरुङ्ग, २०६४ मा खेलकुदक्षेत्रकी सिपोरा गुरुङ्ग यस पुरस्कारबाट सम्मानित भएकी थिइन् । यस्तै २०६५ मा विज्ञान तथा प्रविधि क्षेत्रका कुशल केसी, २०६९ मा पर्वतारोहण क्षेत्रकी निमा छ्याङदी शेर्पा सो पुरस्कारबाट सम्मानित भएका थिए । निमा १६ वर्ष मुनिको महिला तर्र्फकी विश्वकै प्रथम किर्तिमानी सगरमाथा आरोही हुन् ।

२०६९ सालपछि लामो समय स्थगित भएको राष्ट्रिय बालप्रतिभा पुरस्कार अबका दिनहरुमा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कारको नाममा वितरण गरिने बताइएको छ । वितरणको जिम्मा पुरस्कार सरुभक्त केन्द्रलाई प्रदान गरिएको पत्रकार सम्मेलनमा बताइयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x