जसपाको आफ्नै भवन बन्दै


जनता समाजवादी पार्टी नेपालले आफ्नै जग्गामा कार्यालय भवन बनाउने प्रक्रिया सुरु गरेको छ । पार्टीले ललितपुरको सातदोबाटोमा रहेको डेढ रोपनी जग्गामा करिब पाँच करोड लागतमा भवन निर्माण गर्ने गरी डिजाइन तयार गर्न लगाएको छ ।जसपा कार्यकारिणी सदस्य एवं आर्थिक विभाग प्रमुख विजय यादवले भवनको डिजाइन लगभग तयार भइसकेको बताए । इन्जिनियरले ‘डिजाइन फाइनल गरेपछि अगामी आर्थिक वर्षदेखि भवनको निर्माण कार्य सुरु हुनेछ।’कोरोनाका कारण भवन निर्माण कार्यमा ढिलासुस्ती भइरहेको भन्दै उनले अब तीब्र रुपमा अगाडि बढ्ने बताए । ‘कोरोनाका कारण आर्थिक संकलन पनि भइरहेको थिएन,’ उनले भने, ‘अब त्यसको बारेमा पनि छलफल गरी आर्थिक संकलनको कार्यलाई अगाडि बढाउँछौँ ।’
२०७६ मा बसेको बैठकले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यतिबेला नै हरेक प्रदेशलाई आर्थिक संकलनका लागि निर्देशन दिइएको थियो भने आर्थिक संकलनमा कोरोनाको कारणले ढिला सुस्ती भैरहेको बताउनुभयो । स्रोतका अनुसार कोशी प्रदेशले ५० लाख, मधेश प्रदेशले दुई करोड, बागमती प्रदेशले २५ लाख, गण्डकी प्रदेशले २५ लाख, लुम्बिनी प्रदेशले ५० लाख, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले १०÷१० लाख आर्थिक संकलन गर्नुपर्ने भनिएको थियो । त्यस्तै, गैरभौगोलिक प्रदेशले २५ लाख र प्रवास कमिटीले एक करोड संकलन गर्ने जिम्मा तोकिएको थियो ।
भवन निर्माणका लागि केन्द्रीय सदस्यले पाँच हजार, संघीय परिषद् सदस्यले दुई हजार र साधारण सदस्यले पाँच सय रुपैयाँ समेत बुझाउनु पर्ने त्यतिबेला निर्देशन दिएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE