बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026

पिरतीको गीत सुनाउदै आइन् बबिना (भिडियो सहित)

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares
पिरतीको गीत मेरो तिमीलाई सुनाउँछु

बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ..

प्रेमकै पर्यायवाची शब्दहो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्‌ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन । मुटुले नै प्रेमिल भाव उब्जाउने भएर होला प्रेममा मुटुको खुवै चर्चा हुने गर्छ । मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने ।

मुटु नै त हाम्रो सबैभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौं, हाम्रो सिंगो जीवनकालमा लगभग तीन अरव पटक धड्कने यति महत्वपूर्ण अंग मुटु बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला ? हरेक धड्कनमा उनी अनि हरेक धड्कनमा उनको याद, मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला ? सधै सधैं उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्‌नो मुटुलाई शितलता दिएको..आफ्‌नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति संगालेका अनगिन्ति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव हरिराम र बबिनाको ‘पिरतीको गीत’ मा समेटिएको छ । हरिरामका प्रेमिल शब्दहरुलाई बबिनाले प्रेमिल धुन भरेर उस्तै प्रेमिल भावमा स्वरवद्ध गरेकी छिन् भने स्वरमा बबिनालाई बेनुप क्षेत्रीले साथ दिएका छन् । संगीत र स्वर भर्ने क्रममा गायिका तथा संगीतकार बबिना हरिरामका शब्द शब्दमा चुर्लुम्म डुवेकी छिन्, शब्दका प्रेमिल भावमा हराएकी छिन्, तिनै शब्दले बोलेका प्रेमिल भावलाई उनले स्वर र संगीतमा सर्लक्क उतारेकी छिन् ।

यता उता जता पनि तिम्रै छाँया देख्छु
मेरो मनको बागभरि तिम्रै माया रोप्छु
जिन्दगीको सरगम मेरो तिमीलाई नै बनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।

दुई मुटुले प्रेमिल भाव संगालिसकेपछि यता उता जता पनि उनकै छायाँ देखिन्छ, जीवन उनी नै उनीमय बनिदिन्छ । लाग्छ हरपल हरक्षण उनी मन मस्तिष्कमा छाउँछिन्, नजरभरि उनी नै उनी आउँछिन् । उनीलाई नदेखुँ भनेर आँखा बन्द गर्दा पनि आँखाभरि उनी नै झन् सग्लो भएर नजरमा आउँछिन् । जीवनको फूलबारीमा उनकै मायाका रङ्गीविरङ्गी फूलहरु फक्रन्छन् अनि फुल्छन्, तिनै फूलको सुवासमा उनी भेटिन्छिन्, उनी यसरी तनभरि मन भरि फुलिदिन्छिन् र त उनको आवगमनले जीवनमा खुसीको बहार आउँछ, उनको यादले मात्रै पनि मनले खुसी संगाल्छ, उनलाई सम्झदा मात्र पनि मनले शितलता महशुष गर्छ, उनलाई कल्पदा मात्र पनि आनन्दित र रमाइलो महशुष हुने गर्छ ।

प्रेमिल भावको ‘पिरतीको गीत’ सुनिरहदा आफैं प्रेमिल भावमा रहेको महसुस हुने गर्छ, उनी संगको यस्तो प्रेम कि जसको कुनै सीमा छैन,जसको कुनै अन्त्य छैन, जहाँ विश्वासको महल छ, इज्जतको दर्विलो खम्वा छ, सम्मानभावको दरवार छ अनि प्रेमिलभावको ताजमहल छ, जहाँ एकअर्कालाई पाउने आस र गुमाउने डर भन्दा पनि उनीलाई चाहन्छु, उनीलाई गहिरो भावमा प्रेम गर्छु भन्ने आभाष मनले लिइरहन्छ, संगालिरहन्छ ।

सुख, दुःख सधैं भरि तिम्रै गीत गाउँछु
छाती भित्र मुटुभरि तिम्रै प्रीत पाउँछु
मनका सारा खुसीहरु तिमीलाई नै सुनाउँछु
बन्धकीमा मेरो मुटु तिमीलाई बुझाउँछु ।

उनीले मुटु बन्धकी लिएकी छिन् त्यसैले त छाती भित्र मुटुभरि उनकै प्रीत भेटिन्छ नि, अव त यस्तो लाग्छ जीवनका हर परिस्थितिमा उनको याद, उनको साथ र उनको माया सहयात्री बनिदिन्छ । उनी भए दिन नै रमाइलो रात नै रमाइलो नि …सुख, दुःख सबै भावमा उनी । सुखका भाव उनी संग बाँढ्न पाउँदाको क्षण असाध्यै सुखद् हुन्छ, सुखका भाव उनी संग बाँढिरहदा झन् सुखानुभूति मिल्छ भने दुःखको बेला पनि उनको याद र उनकै गीत गुनगुनाइरहदा भारी विसाए झैं तन र मन दुवैले हल्का महशुष गर्छ नै । जीवनका सबै परिस्थितिहरुमा उनी अनि उनको साथ, हर परिस्थितिमा मिल्ने उनको साथले सबै परिस्थिति प्रेमिल बनिदिन्छन्, रमणीय बनिदिन्छन् । सुख र दुःखका भावमा उनकै गीत गाए पनि दुःखका कुरा सुनाएर उनीलाई दुःखी बनाउने मन गीतकारलाई छैन, उनलाई त खुसीका कुरा, रमणीय कुरा, पिरतीका कुरा सुनाउने हो, मनका सारा खुसीहरु उनीलाई नै सुनाउने हो, मुटु बन्धकी उनीलाई नै दिने हो, जे गर्छिन् जसो गर्छिन् उनको मर्जी, उनकै खुसी । दुःख त आफै भित्र राख्ने हो, उनकै पिरतीले ती दुःखका भाव मेटाउने हो ।

गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावको गीत ‘पिरतीको गीत’ पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । गीतमा पुरुष स्वर बेनुप क्षेत्रीको रहेको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको भिडियो ऐ.जे. अजु र उनको समुहद्धारा निर्माण गरिएको हो । भिडियोमा श्रृङ्गार प्रिया नगरकोटीको रहेको छ । गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक बेनुप क्षेत्री फिचर्ड छन् । ‘पिरतीको गीत’बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ ।

‘पिरतीको गीत’ सुनेर तथा हेरेर गीतकार डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ने’ लेख्छन् ‘पिरतीमा आफैँलाई चुर्लुम्म डुवाएकी एउटी नारी आफ्‌नो सर्वस्व प्रेमीलाई बुझाँउन चाहन्छे । त्यस्तो प्रेमिल भाव बोकेको गीत लेख्न सक्ने गीतकार हरिराम पौडेलको सो गीत प्रेमिल भाव जस्ताको तस्तै प्रवाह गर्नेगरी संगीत भर्ने नारी पात्र बबिना भट्टराईलाई उनकै स्वरमा पस्किएको उक्त गीत सुनेपछि जो कसैले पनि कन्जुस नगरी मुरीका मुरी साधुवाद भन्न कर लाग्छ । एउटा कविका शब्दहरुमा संगीत भरेर भावभंगी सहित आफ्‌नै स्वरमा गाएर न्याय गर्न सक्ने सफल गायिका बबिना भट्टराई नेपाली गीत संगीत क्षेत्रकि प्रतिभाशाली नक्षत्र हुन् । गीत संगीत क्षेत्रको जाजल्यवान भबिष्य बोकेकी संगीतकार तथा गायिका बबिना भट्टराईलाई म हृदयवाट नै यस क्षेत्रमा निरन्तर लागिरहन प्रेरणा दिन चाहन्छु । अझै धेरै संगीत र गीतहरु बजारमा ल्याउन समयले साथ दियोस् भन्ने शुभकामना दिन चाहन्छु साथै सवै नेपालीले एक पटक उनले गाएकी ‘पिरतीको गीत’ सुनेर आफ्‌नो उमेरको त्यो स्वर्णिम कालको प्रेमिल सम्झना गर्न अनुरोध गर्दछु । अन्त्यमा आफ्‌नो जवानीको यादमा गीतका शब्दहरु बुन्ने गीतकार तथा कवि हृदय बोकेका प्रिय मित्र हरिराम पौडेललाई भविष्यमा धेरै गीतहरु सुन्न पाइयोस् भन्ने शुभकामना दिन चाहन्छु ।’

 

त्यस्तै बरिष्ठ संगीतकार दिपक जंगमले बबिना भट्टराईको स्वर र संगीतले ‘पिरतीको गीत’ को भावलाई न्याय गरेको बताउँदै गीत निकै सुमधुर बनेको बताएका छन् । उनी भन्छन् ‘बबिनाको स्वर र उनको संगीत गर्ने क्षमता अब्बल रहेको छ, नेपाली संगीतमा बबिनाको उपस्थितिले ‘पिरतीको गीत’ जस्तै अन्य सुमधुर गीतहरु नेपाली संगीत क्षेत्रले पाउने आशा जगाएको छ, उनको सुखद् एवं सफल संगीतयात्राको लागि मेरो शुभकामना छ ।’

गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ हरिराम र बबिनाको ‘पिरतीको गीत’ सम्झदै लेख्छन् ‘अत्यन्तै मीठो शब्द रचना, प्रेमको उत्कर्ष भावलाई सरल शैलीमा लिपिबद्ध यस गीतको हरेक पङ्तिले प्रेम प्रतिको समर्पण बोलेको छ, हरेक शब्दमा मीठास छ, सरलतामा त्यत्तिनै गहनता पनि छ, शिष्ट र सभ्य भाषा शैली छ, समग्रमा एउटा सुन्दर प्रेमिल गीत बनेको छ । त्यसैगरी गीतको भावलाई साच्चै नै न्याय हुनेगरी श्रुतिमधुर संगीतको निर्माण भएको छ, निखारिएको अनि कर्णप्रिय आवाज सुन्दा कता कता भारतीय गायिका जसको आवाजमा साक्षात सरस्वतीको वास छ, जादुमय आवाजकी धनी लता मंगेश्करको झल्को दिन्छ, गीत, संगीत र गायन तीन पक्षको बलियो संगम बनेको छ । गीत सुहाँउदो संगीत संयोजन, रेकर्डिङ, सबै पक्ष राम्रो छ । गीत जति पटक सुन्दा पनि त्यति नै कर्णप्रिय लाग्छ । नेपाली संगीत आकाशमा एउटा सुन्दर अनि श्रुतिमधुर सृजना थपिएको छ । गीतको भिडियो पनि गीत सुहाउने बनेको छ । गायन, संगीत र अभिनयले बबिना भट्टराईको बहुआयामिक व्यक्तित्वलाई भल्काउँछ भने सृजना संगै नेपाली संगीत क्षेत्रमा देखिएको उहाँको उपस्थितिले अझ धेरै सफलता र उचाई पाओस् उहाँ लगायत यस गीतका गीतकार वरिष्ठ संचारकर्मी अत्यन्त शालिन व्यक्तित्व हरिराम पौडेल लगायत यस सृजना सँग जोडिनु हुने सम्पूर्णमा हार्दिक वधाई तथा शुभकामना ।’

भर्खरै सार्वजानिक भएको हरिराम र बबिनाको ‘पिरतीको गीत’ हरिराम पौडेलले २०५३ साल पुष १८ गते लेखेका उनको गीति संग्रह ‘मेरो खुसी मेरो चाह’ मा उल्लेख छ । पौडेल मार्फत पुस्तक आफ्नो हातमा परे पछि पुस्तकको सबै भन्दा पछिल्लो पृष्ठमा रहेको उक्त प्रेमिल गीतले बबिनाको मनमा पनि प्रेमिल भाव उब्जियो । ‘पिरतीको गीत’ सम्झदै बबिना भन्छिन् ‘ मेरो स्वर तथा संगीतका गीतहरु तथा भजनहरु मन पराउनु भै मलाई प्रतिक्रिया दिदै, मेरो संगीत यात्राको सफलताको शुभेच्छा दिदै आउनु भएका गीतकार हरिराम पौडेलले म सानै छदा ‘पिरतीको गीत’ बोलको गीत लेख्नु भएको रहेछ, वहाँको गीति संग्रह ‘मेरो खुसी मेरो चाह’ पल्टाउने क्रममा ‘पिरतीको गीत’ मा नै म अल्झे, ती शब्दहरु प्रेमिल लाग्यो, शब्दहरुले प्रेमका भावहरु बोलेको अनुभूति भयो अनि गीतकार हरिराम पौडल संगको छलफल पछि समयले भनौ या संयोगले उक्त गीत रेकर्ड गर्ने चाँजोपाजो मिल्यो । गीत सार्वजानिक भए पछि धेरै दर्शक, श्रोता तथा सांगितिक क्षेत्रका व्यक्तित्वहरुबाट गीतमा मैले गरेको संगीत, मेरो स्वर र भिडियोमा मैले गरेको अभिनय समेतलाई मन पराइदिनु भएको पाउँदा अत्यन्त खुसी छु । हरेक प्रेमिल मनहरुलाई यो गीतले छुट्टै प्रेमिल छाप छोड्न सक्ने मैले विश्वास लिएकी छु ।’

यति बेला हरिराम र बबिनाको ‘पिरतीको गीत’ को चर्चा छ । बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा रहेको ‘पिरतीको गीत’ मा धेरै प्रतिक्रियाहरु आएका छन् । गीतकार उत्तम विचार सटिक प्रतिक्रिया लेख्छन् ‘आहा ! आहा ! चोखो मायामा हुने साँचो समर्पणवादी सुन्दर गीत ! हरिरामका सुललित शब्दहरूलाई सुमधुर स्वर र संगीतमा सजाएर बबिना भट्टराईले बडा न्याय गर्नु भएको छ ।
सम्पूर्ण टीमलाई सहृदयी सलाम !’ गायिका तथा संगीतकार बबिना भट्टराई तथा गीतकार हरिराम पौडेलले आफ्नो फेसबुकमा पोष्ट गरेका ‘पिरतीको गीत’ का लिंकमा सयौंको संख्यामा प्रतिक्रियाहरु आएका छन् । पाठक, दर्शक र श्रोताहरुका यी प्रतिक्रियाहरुले आगामी दिनहरुमा पनि हरिराम र बबिनाको सहकार्यमा नेपाली संगीत बजारमा ‘पिरतीको गीत’ जस्तै अरु धेरै प्रेमिल गीतहरु आउने विश्वास गर्न सकिन्छ ।

बबिनाकोे १७ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । उनले संगीत प्रतिको आफ्नो योगदानले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका सुगम संगीतका गीत, गजल सहित भजनहरुमा पनि आफ्नो सुमधुर स्वर तथा संगीत दिएर भक्ति संगीतमा समेत आाँफूलाई स्थापित गरेकी संगीतकर्मी हुन् ।

‘पिरतीको गीत’ को भिडियो हेनुृहोस् !
https://www.youtube.com/watch?v=028b0UB9OqU

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x