चुरोट-वाली प्रेमिका – डि जी शर्मा
मैले गफ उडाए जस्तो
ऊ चुरोटको धुवाँ उडाउँछे
मेरै सामु निसङ्कोच
यसरी उडाउँछे
मानौँ
संसार जितेर
ऊ आराम गरिरहेकी छे
यस्तो लाग्छ धुवाँ बिना
उसको जिन्दगी खल्लो छ
चुरोट तान्दै
कहिले उन्मुक्त हाँस्छे
मानौँ ऊभित्र
पीडाको कुनै प्रवेश छैन
जसरी चुरोटलाई
धुवाँ हुनुमा पीडाबोध छैन
कहिले
उडिरहेको धुवाँसँग लय मिलाउँदै
पूर्व प्रेमीहरुले दिएका चोटहरु
एकसाथ वान्ता गर्छे
मानौँ पीडाहरुको पहाड बोकेर
ऊ हिँडिरहेकी छे
चुरोट नखा !
भन्न पनि मिल्दैन
रिसाउँछे, घुर्क्याउँछे
उस्तै परे
छोडेर जान्छे
प्रेमिका न हो
श्रीमती भए पो
सम्झाउनु, गाली गर्नु
प्रेमिकासँग त
चर्को स्वरले बोल्दा पनि
अपराध ठहरिन्छ
उसलाई लाग्छ
हाम्रो प्रेम एक दिन
त्यही धुवाँ जस्तै उडेर जानेछ
र बिलाउने छ यही सहरमा
सायद त्यसैले होला
उसलाई
न सम्बन्ध बिग्रिएला भन्ने पीर छ
न स्वास्थ्य
दुईको जिन्दगी भन्दै
उडाइदिन्छे धुवाँमा
तर म भने
उसले सल्काउने
चुरोटका हरेक खिल्लीहरु जस्तै
सल्किरहेको छु उसको प्रेममा
मानौँ ऊ लाइटर हो
मलाई त
उसको ओठमा बस्न मन छ
उसले तान्ने चुरोट जस्तै गरी
तर चुरोट जसरी सल्किएर
सकिन मन छैन
मलाई त
उसको हृदयमा बस्न मन छ
जसरी चुरोटको धुवाँ
एकै छिनलाई भए पनि
उसको हृदय स्पर्श गरेर फर्किन्छ
तर मलाई
धुवाँ जसरी फर्किन मन छैन
धुवाँले फोक्सोमा बनाउने
दाग जसरी
मलाई उसको मुटुमा
बसिरहन मन छ
नबिझाउने गरी
तर
ऊ मलाई सल्काउन खोज्छे
चुरोट जस्तै गरी
र मिल्काउन चाहन्छे
धुवाँ सकिएपछिको चुरोट जसरी
ऊ भन्छे
परदेशको माया एयरपोर्टसम्म
सायद त्यसैले होला
जहाज उडेपछि
ऊ मलाई बिर्सिन चाहन्छे
र बिर्सिन चाहन्छे
सँगै बिताएका पलहरु
अनि हाम्रो प्रेम
सल्किएर बाँकी रहेको
त्यही चुरोटको ठुटा जस्तै
बाटोमा कतै बेवारिसे हुनेछ
यता म भने
उसको मुखबाट निस्किएको
धुवाँको गन्ध सम्झिरहनेछु
जो चुम्बनमा
सधैँ बाधक हुन्थ्यो ….
डि जी शर्मा
झापा
हाल : यूएई
WRITE COMMENTS FOR THIS ARTICLE