शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

काठमाडौं २ मा शिक्षा मुख्य एजेन्डा : बालचन्द्र श्रेष्ठका प्रतिबद्धतामा शंकर दुलालको समर्थन

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

काठमाडौं , काठमाडौं क्षेत्र नं. २ मा यसपटकको निर्वाचनमा शिक्षा मुख्य बहसको विषय बनेको छ। यही सन्दर्भमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालचन्द्र श्रेष्ठले सार्वजनिक गरेका शिक्षा–केन्द्रित एजेन्डाहरूले मतदाताको ध्यान आकर्षित गरिरहेका छन्। यी एजेन्डालाई पार्टीका नेता शंकर दुलालले खुलेर समर्थन गर्दै यसलाई “समान अवसर र गुणस्तरीय शिक्षाको आन्दोलन” का रूपमा व्याख्या गरेका छन्।
दुलालका अनुसार, अहिलेको शिक्षा प्रणालीमा देखिएको असमानता, निजी विद्यालयको बढ्दो व्यापारीकरण र सरकारी विद्यालयप्रतिको घट्दो विश्वासलाई सुधार गर्न संरचनात्मक परिवर्तन आवश्यक छ। त्यसका लागि श्रेष्ठले अघि सारेको प्रस्ताव—सामुदायिक विद्यालयहरूको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गरी सरकारी विद्यालयमै निजी सरहको शिक्षा सुनिश्चित गर्न अत्यन्तै व्यवहारिक र समयसापेक्ष रहेको उनको भनाइ छ।
श्रेष्ठले आधारभूत तहदेखि नै कम्प्युटर शिक्षा, कोडिङ तथा आधुनिक प्रविधिको प्रयोग अनिवार्य बनाउने योजना सार्वजनिक गरेका छन्। डिजिटल युगमा विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउन यो कदम अपरिहार्य रहेको दुलालको तर्क छ। उनका अनुसार, “डिजिटल साक्षरता अब विलासि माध्यम होइन , आवश्यकता हो।”
माध्यमिक तहदेखि नै प्राविधिक तथा व्यावसायिक (Vocational) शिक्षा लागू गर्ने प्रस्तावले विद्यार्थीलाई आत्मनिर्भर बनाउने विश्वास पनि दुलालले व्यक्त गरेका छन् । केवल सैद्धान्तिक ज्ञानमा सीमित नभई व्यावहारिक सीप विकासतर्फ उन्मुख शिक्षाले बेरोजगारी घटाउने र युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उनको दाबी छ।
यसैगरी, दलित, सीमान्तकृत तथा विपन्न समुदायका विद्यार्थीका लागि सरकारी छात्रवृत्तिको दायरा फराकिलो र पहुँचयोग्य बनाउने प्रतिबद्धतालाई दुलालले सामाजिक न्यायसँग जोडेर हेरेका छन्। उनका अनुसार, शिक्षा सबैको अधिकार भएकाले आर्थिक अवस्थाले अवसरमा बाधा पुग्नु हुँदैन।
श्रेष्ठको एजेन्डामा स्थानीय पाठ्यक्रममा ‘सांस्कृतिक गौरव र इतिहास’ विषय समावेश गर्ने प्रस्ताव पनि रहेको छ। नयाँ पुस्तालाई आफ्नो इतिहास, पहिचान र सांस्कृतिक मूल्यबारे सचेत गराउनु दीर्घकालीन राष्ट्रिय विकासको आधार भएको दुलालको भनाइ छ।
विद्यालय पूर्वाधार सुधार—सुरक्षित खानेपानी, स्वच्छ शौचालय, खेलकुद मैदान र बालमैत्री वातावरण सुनिश्चित गर्ने प्रतिबद्धतालाई पनि दुलालले शिक्षा सुधारको अनिवार्य पक्ष मानेका छन्।
उनका अनुसार, गुणस्तरीय शिक्षा कक्षाकोठाभित्रको पाठ्यक्रममा मात्र सीमित हुँदैन, समग्र वातावरणमै आधारित हुन्छ।
प्रलोपा र बालचन्द्र श्रेष्ठले अघि सारेका यी शिक्षा–केन्द्रित एजेन्डाहरूलाई शंकर दुलालले परिवर्तनको स्पष्ट खाका भन्दै काठमाडौं–२ का मतदातासमक्ष प्रस्तुत गरेका छन्। शिक्षा सुधारको प्रश्नमा नयाँ विकल्पको बहस सुरु भएको यस निर्वाचनमा, यी प्रतिबद्धताहरू कत्तिको व्यवहारमा रूपान्तरण हुन्छन् भन्ने प्रश्न अब मतदाताको निर्णयसँग जोडिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x