बुधबार ४० अंकले बढ्यो नेप्से

0
90

बुधबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ। गत दुई सातादेखि घट्दो क्रममा रहेको शेयर बजार मंगलबारबाट भने बढ्न थालेको छ। मंगलबार झिनो अंकको सुधार देखिएको बजारमा बुधबार भने ४० अंकले बढेको छ।

यस दिन नेप्से सूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ८.११ अंकले बढेर ४३८.६० विन्दुमा पुगेको छ। मंगलबार नेप्से सूचक घटेर २३७० विन्दुसम्म झरेपनि सोहि विन्दुबाट बजार लगातार उकालो लागेको छ। २३७० विन्दुको टेवा विन्दुबाट बजार बढ्न थालेपछि केहि लगानीकर्ताहरुले भने बजारमा करेक्सन सकिएको र पुनः पुरानै लयमा फर्किएको विश्लेषण गरेका छन्।

तर, केहि लगानीकर्ता भने कारोबार रकमले साथ नदिएकोले कन्फरमेशनको लागि अझै बिहीबारसम्म कुर्नुपर्ने देखिएको बताउछन्। नेप्से सूचक बढेपनि कारोबार रकम बढ्न नसक्दा लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ।

बुधबार ११२ वटा कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँमा खरिद बिक्री भएको छ।

पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार
बुधबार पाँच कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, ग्रीन लाइफ हाइड्रोपावर, युनाइटेड इदि मर्दि हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुधबार घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरे ८.९५ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको २.७८ प्रतिशत, गुहेश्वरी फाइनान्सको १.९० प्रतिशत, नेश्नल हाइड्रोपावरको १.८१ प्रतिशत र बैंक अफ काठमाण्डौको १.७० प्रतिशतले घटेको छ।

यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै २० कराेड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल लाइफको १८ करोड ८४ लाख रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनीको १६ करोड ४१ लाख र अपर तामाकोशीको १४ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा होटल तथा पर्यटन उपसमूहको सूचक सबैभन्दा धेरै ४.२६ प्रतिशतले बढेको छ।

LEAVE A REPLY